क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका अन्तर्गतको पथरीशनिश्चरे नगर अस्पतालमा अर्का एमबीबीएस डाक्टर समेत हाजिर भएका छन् । नवनियुक्त डाक्टर साकारबाबु घर्तीलाई मंगलबार नगरपालिका कार्यालयले स्वागत गरेपछि अस्पतालमा डाक्टरको संख्या २ रहन पुगेको छ । नगर प्रमुख दिलिपकुमार राई सहितका जनप्रतिनिधि र कर्मचारीले नगरपालिका कार्यालयमा डाक्टर घर्तीलाई स्वागत गरे । साथै वडा नम्वर २ मा रहेको अस्पतालमा समेत एक भेलाबीच डाक्टर घर्तीलाई स्वास्थ्य कर्मचारी र स्थानीयले उसैगरी स्वागत गरेका छन् ।
अघिल्लो महिना स्वास्थ्य चौकीलाई अस्पतालमा परिणत गरेपछि सरकारले एमबीबीएस डाक्टर सावन मेहेतालाई नियुक्त गरेको थियो । नगरपालिका कार्यालयको पहलमा संघीय सरकार स्वास्थ्य मन्त्रालयबाट १५ शैयाको अस्पतालको प्रक्रियामा अगाडी बढेको छ । तत्कालका लागि ५ शैयाको अस्पताल सञ्चालन गर्न सरकारमार्फत २ जना एमबीबीएस डाक्टरको दरवन्दी तय गरिएको छ । पथरीशनिश्चरे नगरपालिकाको पाँचौ नगरसभामा तत्कालै एमबीबीएस डाक्टर राखेर ५ शैयाको अस्पताल सञ्चालन गरिहाल्ने निर्णय पारित भएको थियो ।
बिमा कार्यक्रम ः
उता, नगरपालिका कार्यालयले मंसिर १ गतेदेखि सञ्चालनमा ल्याउने स्वास्थ्य बिमा कार्यक्रममा लागि बिमा सहयोगीहरुले वडा वडामा बिमा गराउने क्रम अघि बढाएका छन् । जस अन्तर्गत आजसम्ममा वडा नम्वर १ मा ७० वर्ष माथिका १७ जना ज्येष्ठ सहित ७१ परिवारले, ३ नम्वरमा ६ ज्येष्ठ र एक पूर्ण असक्त अपाङ्गता सहित २५ परिवारले स्वास्थ्य बिमा गराएका छन् ।
त्यसैगरी, वडा नम्वर ४ मा २ ज्येष्ठ, एक पूर्ण असक्त अपाङ्गता सहित ४० परिवारले, ५ नम्वरमा ८ जना ज्येष्ठ र २ जना पूर्ण असक्त अपाङ्गता सहित १२ परिवारले, ६ नम्वरमा पूर्ण असक्त अपाङ्गता परिवारका ५ जना, ज्येष्ठ ३ सहित १४ परिवारका ४८ जनाले बिमा गराएका छन् । ८ नम्वरमा पूर्ण असक्त अपाङ्गता भएका ३ सहित ८ परिवारले, ९ मा ९७ परिवारका ३ सय ४४ जनाले र १० मा ९ ज्येष्ठ सहित ४१ परिवारले हालसम्म बिमा गराएको बिमा सहयोगीहरुले जनाएका छन् । प्रत्येक वडामा १/१ जनाका दरले नियुक्त भएका बिमा सहयोगीहरुले वडा वडाका घर घरमा गएर परिवारका लागि स्वास्थ्य बिमा गराउने छन् ।
पथरी नगर अस्पतालमा एमबीबीएस डाक्टर समेत नगरमा उपलब्ध भएपछि सोही अस्पताललाई बिमाको प्रमुख विन्दु मानेर बिमा कार्यक्रम सञ्चालन गरिएको छ । बिमाका लागि वडा नम्वर १ मा उमा अधिकारी, २ मा रञ्जु गुरुङ, ३ मा मनिता राई, ४ मा निर्मला पोखरेल भट्टराई, ५ मा सावित्रा ढकाल, ६ मा रमला घिमिरे, ७ मा आरती लिम्बू, ८ मा रीता खड्का, ९ मा पार्वती राय र १० मा रिना वस्नेत सहयोगी कर्मचारीका रुपमा नियुक्त भएका छन् ।
बिमाका लागि ५ जनासम्मको परिवारमा वर्षको १ लाख रुपैयाँ बराबरको स्वास्थ्य उपचारका लागि वर्षको ३ हजार ५ सय रुपैयाँ विमा स्वरुप अग्रिम जम्मा गर्नुपर्नेछ । ५ जना भन्दा बढी परिवार भएमा सो रकममा प्रति सदस्य ७ सयका दरमा रकम थप गरी २० हजारको सेवा पाउने प्रावधान रहेको छ । १० जना र त्यो भन्दा माथिको परिवारले अधिकतम सीमा २ लाखसम्मको उपचार पाउनेछन् । यसको अवधि १ वर्षको हुने र अरु वर्षमा पुन सो रकम नविकरण गर्नुपर्ने हुन्छ ।
अपांगताको रातो कार्ड पाएका तथा ७० वर्षमाथिकाले निशुल्क बिमित हुन पाउने छन् । कुष्ठरोगी र एमडीआर टीबी भएका परिबारले पनि निशुल्क बिमित हुन पाउने छन् । महिला स्वास्थ्य स्वयंसेबिकाले ५० प्रतिशत छुट पाउने छन् । अति विपन्नका लागि सरकारले शुल्क व्यहोरेर निशुःक उपचार गर्नेछ । विपन्नलाई ७५ प्रतिशत र गरिवीको रेखामुनी रहेकालाई विमा गर्नुपर्ने रकममा ५० प्रतिशत छुट दिइन्छ । प्लाष्टिक सर्जरी गरेको, लागू पदार्थ सेवन गरी घाइते भएको, आपसी झैझगडा गरेको, कृत्रिम गर्भाधान गरेकोलाई विमा उपचार नहुने प्रावधान बनाइएको छ ।