ज्ञानेन्द्र शाही घटनाबारे अनुसन्धान गर्न ५ सदस्यीय समिति गठन - Crazysaptahik.com

ज्ञानेन्द्र शाही घटनाबारे अनुसन्धान गर्न ५ सदस्यीय समिति गठन


क्रेजी साप्ताहिक
पथरी । भ्रष्टाचार विरोधी अभियान्ताका नामले चिनिएका ज्ञानेन्द्र शाहीमाथि भएको आक्रमणको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयले छानविन समिति गठन गरेको छ । प्रहरी नायब उपरीक्षकको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान समिति गठन गरेको हो । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार पीडित पक्षबाट हालसम्म कुनै पनि उजुरी परेको छैन ।

चौबीस घण्टासम्म पनि उजुरी नपरेपछि प्रहरी कार्यालयले घटनाको अनुसन्धान गर्न समिति बनाएको हो । ‘घटना के, कसरी घट्यो र संलग्न व्यक्तिको पहिचान गर्न समितिले काम गर्नेछ’, मल्लले भने । समितिले तीन दिनभित्र आफ्नो प्रतिवेदन पेश गर्नेछ । सोही आधारमा दोषीलाई कारवाही गर्न सहज हुने उनले बताए ।शनिबार दिउँसो भरतपुरको चौविसकोठीमा शाहीले सम्बोधन गर्न लागेको कार्यक्रम बिथोलिएपछि फर्कने क्रममा होटल परिसरमा उनीमाथि आक्रमण भएको थियो । उनी चढेको माइक्रोबसमा आक्रमण भएको थियो । सो क्रममा घाइते भएका शाहीलाई चितवन मेडिकल कलेजमा उपचारपछि थप उपचारका लागि सोही दिन काठमाडौँ लगिएको थियो ।

सो घटनापछि सामाजिक सञ्जालमा भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालको चरित्र हत्या हुने गरी अपशब्दहरु लेखिएको भन्दै महानगरपालिकाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेको छ । प्रहरी प्रमुख मल्लका अनुसार सो उजुरीपछि खैरहनीका ३० वर्षीय पशुपति श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान थालिएको छ । अन्य व्यक्तिको खोजी भइरहेको छ । महानगरको उजुरी साइबर क्राइम ब्यूरोमा पठाइएको र त्यहाँबाट पनि अनुसन्धान थालिएको मल्लले जानकारी दिए ।

सम्बन्धित खवर