
क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरी शनिश्चरे नगर क्षेत्रको बसोबासको फरक किसिमले समस्या समाधानका लागि सम्बन्धित निकायमा सुझाव सहितको अनुरोध पेश गरिने भएको छ ।
नगरस्तरीय अव्यवस्थित बसोबास समस्या समाधान समितिको सोमबार बसेको बैठकले विक्रम सम्वत २०३५÷३६ सालदेखि सरकारी निर्णय अनुसार ढालफाँड गरी बसोबास गर्ने पक्षलाई भोगचलनका आधारमा जग्गाधनी प्रमाण पूर्जा उपलब्ध गराउन सम्बन्धित निकायमा सुझाव सहितको अनुरोध गर्ने निर्णय भएको हो ।
ढालफाँड गरेर बसोबास गर्नेहरुको जग्गा कतिपय व्यक्तिले किर्ते गरी २०४२ सालपछि पूर्जा निकालेको सम्वन्धमा छानविन गरी उचित निर्णय गर्न समेत सम्बन्धित मन्त्रालय, भूमि आयोग सहितमा जानकारी पठाइने नगर प्रमुख एवम् नगरस्तरीय अव्यवस्थित बसोबास समस्या समाधान समितिका संयोजक दिलीपकुमार राईले जनाउनु भयो । वास्तविक पूर्जावाला भएमा सम्बन्धित पक्षले उनीहरुको छानविन गर्र्नु पर्ने उल्लेख गरिएको छ ।
बैठकमा, प्रदेश १ की सांसद कृष्णकुमारी राई, पथरी शनिश्चरे नगर उपप्रमुख यमुना विष्ट वास्तोला, बसोबासवाला पक्षबाट गठित सुकुम्बासी तथा अव्यवस्थित बसोबास समस्या पहल समितिका संयोजक जहरमान लिम्बू, सचिव देवेन्द्र वनेम, सदस्य पदमप्रसाद दहाल, नेकपाका मोहन तुम्वापो, नेपाली कांग्रेसका इश्वर थापा लगायतले आआफ्नो धारणा राख्नुभयो ।

