पूर्णबहादुरलाई रिहाई गर्न परिवारको माग - Crazysaptahik.com

पूर्णबहादुरलाई रिहाई गर्न परिवारको माग

क्रेजी संवाददाता
पथरी । मोरङको कानेपोखरी–६ मा अवस्थित शिवालय चौकका ३० वर्षीय पूर्णबहादुर बोहोरालाई तत्काल रिहाई गर्न प्रहरीसँग परिवारले माग गरेका छन् ।

राजनीतिक र व्यक्तिगत विषयललाई लिएर विभिन्न व्यक्ति प्रयोग गरी आफ्नो परिवारको सदस्यलाई फसाइएको भन्दै सत्यतथ्य छानविन गरी तत्काल छोड्न माग गरेको हो । बोहोराको परिवारले विहिबार पथरीमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त कुराको माग गरेका हुन् । राजनीतिक र व्यक्तिगत विषयलाई लिएर धेरै व्यक्ति लागेर आफ्नो श्रीमानलाई फसाएको उनको श्रीमती सुनिता बोहोराले सञ्चारकर्मीमा सुनाइन् ।

बोहोरा परिवारले विज्ञप्तीमा उल्लेख गरेका छन् अहिलेसम्म परिवार र गाउँमा असल, जिम्मेवार व्यक्तिको भूमिका निर्वाह गर्दै आउनुभएको र हालसम्म कसैसँग झै झगडा पनि नगरिएको उल्लेख छ । पेस्तोल सहित पक्राउ परेको रुद्रबहादुर क्षेत्रीले प्रहरीलाई दिएको बयानमा पेस्तोल जस्तो अवैधानिक हतियार पूर्णबहादुरले दिएको भन्ने कुरा गलत रहेको बताएका छन् ।

अवैध हतियार राखेको र व्यक्तिलाई दिएको कुरामा छरछिमेकी लगायत परिवारले कुनै पनि कोणबाट विश्वास गर्न नसकिने दाजु महेन्द्र बोहोराले बताए । सोझोपनको फाइदा उठाई सुनुयोजित तवरले मेरो भाइलाई फसाउन खोजेको हो । सत्य तथ्य छानविन गरी निर्दोषलाई नफसाइयोस भनी उनका दाजुले तत्काल रिहाईको माग गरेका छन् ।

प्रहरीले बुधबार राति ११ः१५ बजेतिर ३० वर्षीय रुद्रबहादुर क्षेत्रीलाई अमेरीकन पेस्तोल सहित पक्राउ गरेको थियो । क्षेत्रीको घरमै लुकाएर राखेको पेस्तोल र तीन राउण्ड गोली पक्राउपछि क्षेत्रीले पूर्णबहादुर बोहोराले हरियार राख्न दिएको बताएपछि बोहोरालाई पनि सोही राति प्रहरीले पक्राउ गरेको थियो । दुवै जनालाई इलाका प्रहरी कार्यालय पथरीमा राखेर आवश्यक अनुसन्धान गरिरहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित खवर