‘पार्टी भित्रको गुट उपगुटको अन्त्य गर्नु नै हाम्रो मुख्य भूमिका रहनेछ’ - Crazysaptahik.com

‘पार्टी भित्रको गुट उपगुटको अन्त्य गर्नु नै हाम्रो मुख्य भूमिका रहनेछ’

तुलाराम बोखिम, सभापतिका उम्मेद्वार
नेपाली कांग्रेस, शिवसताक्षी नगर कार्यसमिति

नेपाली कांग्रेसको १४ औं महाधिवेशनले क्रियाशील सदस्य र साधारण सदस्यहरु बीच तिव्र रुपमा बहस भइरहेको छ । खासगरी, कांग्रेस पार्टीका लागि यो राजनीति महाकुम्भ मेला नै हो भने नि अत्युक्ति नहोला । पार्टीका कार्याकर्ताहरु अहिले महाधिवेशनमा होमिएका छन् ।
यस्तै १५ वटा पालिकाहरु रहेको झापाको शिवसताक्षी नगरपालिकामा कांग्रेसले सभापति छनौट गर्दैछ । ३ जना सभापतिका उम्मेद्वारहरु मध्ये एक हुनुहुन्छ तुला राम बोखिम । युवा नेता बोखिम कांग्रेसको शिवसताक्षी नगरका वर्तमान उप–सभापति हुनुहुन्छ । दर्जन बढी सामाजिक संघ संस्थाहरूमा रहेर आफ्ना जिम्मेवारीलाई कुशलताका साथ निर्वाह गरिसक्नुभएको छ । पार्टीभित्र खासगरी इमान र निष्ठाको राजनीति गर्नुहुने बोखिम शालिन, भद्र, गम्भीर, बौद्धिक र प्रष्ट वक्ताको रुपमा स्थानीय तहमा परिचित हुनुहुन्छ । प्रस्तुत छ सभापतिका बलिया र साझा उम्मेद्वार बोखिमसँग क्रेजी साप्ताहिकले गरेको संवाद : –

सभापतिको उम्मेद्वार हुनुहुन्छ व्यस्तता कस्तो छ ?
– हाम्रो नगर अधिवेशनको मिति एकदमै नजिकै आइसकेको छ । त्यसैले आफ्नो प्रचार प्रसार र पार्टीका साथीभाइहरुसँग आन्तरिक छलफल, भेटघाट यस्तैमा व्यस्त छु ।

१४ औं महाधिबेशनको क्रममा तपाई बलियो र साझा उम्मेद्वारको रुपमा चर्चामा हुनुहुन्छ नि होइन ?
– १३ औं अधिवेशनमा नगरको उपसभापतिको रुपमा काम गरेर सो अधिवेशनमा मलाई पार्टीका अग्रज तथा साथीभाइहरुको राम्रो साथ सहयोग थियो । र, १४ औं अधिवेशनमा पनि मलाई उहाँहरुको एकदमै राम्रो साथ सहयोग भएकोले नै म अघि बढिरहेको छु । म कांग्रेसको एक असल कार्यकर्ता हुँ । म इमान्दार कार्यकर्ता भएकैले यसपटक वडा अधिवेशनमा शिबसताक्षी–७ बाट सानदार मतसहित क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएको छु । मेरो विचारमा यसैलाई चर्चा मानिएको हुनसक्छ ।

तपाईहरुको उम्मेद्वारीलाई लिएर भ्रामक समाचारहरू पनि आएको हो ?
– हो, केही सञ्चारमाध्यममा सभापतिका प्रत्यासी पदम थापाद्वारा अशोक बस्नेतलाई समर्थन भन्ने समाचार आएका थिए । तर, सो समाचारप्रति स्वयं पदम थापा ज्यूले आपत्ति जनाइसक्नु भएको छ र यस्ता भ्रामक समाचारका पछि नलाग्न अनुरोध गरिसक्नुभएको छ ।

सभापतिका उम्मेद्वारहरु तीन जना हुनुहुन्छ, तपाईहरु बीच सहमतीका कुराहरू भएनन् ?
– सहमतिका विषयमा हाम्रो पार्टी नेपाली कांग्रेसको केन्द्रदेखि नै सकेसम्म सबै ठाउँमा सहमति गरेर गुर्नुपर्छ भन्ने मूल एजेन्डा हो । हाम्रो ठाउँमा पनि सहमतीका प्रयासहरु नभएका होइनन् अग्रजहरुले गरिरहनुभएको छ । सहमती गर्ने कुराहरुको विषयमा म पनि पोजिटिभ नै रहेको छु । म भन्दा बढी काम गर्ने र अग्रजहरुलाई अघि बढाएर म यथास्थानमा बस्न तयार छु भनिरहेकै छु । तर, यहाँ त्यो सिस्टम लागू भएको छैन, त्यसै कारणले चुनावमा जानुको विकल्प देखिएन जस्तो लाग्छ मलाई ।

सभापतिका प्रत्यासी उम्मेद्वार रुद्रमणि भट्टराईले तपाईलाई समर्थन गर्ने कुरा सत्य हो ?
– शिवसताक्षी वडा नं. ८ का रुद्रमणि भट्टराईले मलाई समर्थन गर्नुभएको कुरा सत्या हो । उहाँले एक प्रेस विज्ञप्ति जारी गर्दै भन्नुभएको छ– मैले नगर सभापतिको उम्मेद्वारी नदिने निर्णय गर्दै मृदुभाषी शिवसताक्षी नगरपालिकाको ११ वटै वडामा चारतारे झण्डा फहराउन सक्ने सक्षम नेता, युवाहरुका ढुकढुकी, प्रष्ट विचार, उद्देश्य र प्रतिवद्धता भएका नगर सभापतिका उम्मेद्वार तुलाराम बोखिमलाई समर्थन गर्ने निर्णय गरेको छु । यति कुराले नै उहाँले मलाई समर्थन गर्नुभएको कुरा प्रष्ट हुन्छ ।

तपाईका भाबी योजनाहरु के–के छन् ?
– हाम्रो टिम छ, हाम्रा टिम विजयी भएर आइसकेपछि प्रथम कार्य भनेको पार्टीमा भएको गुट उपगुटको अन्त्य गर्नेमा मुख्य भूमिका रहनेछ । कार्यकर्ता तथा क्रियाशील सदस्यहरुलाई योगदानको आधारमा पद तथा स्थान दिएर समेट्न प्रयासरत हुनेछौं । यस्तै पार्टी संगठनमा रहने विभिन्न विभागको संयोजकमा युवा पुस्ताहरुलाई योगदानको आधारमा कामको बाडफाँड गरी संयोजनको भूमिका खेल्ने योजना रहेको छ । साथै शिवसताक्षी नगरपालीकामा जनप्रतिनिधिको समय अवधि करिब १ वर्ष मात्र रहेकोले उक्त एक वर्षको समय अवधिमा प्रभावकारी ढंगले प्रतिपक्षको भूमिका निर्भाह गर्नेछौं ।

शिवसताक्षी नगरमा मतदाता संख्या कति छ र तपाईको पक्षमा कति मत आउने अपेक्षा गर्नुभएको छ ?
– हाम्रो पार्टीमा क्षेत्रीय प्रतिनिधिले मात्र नगरको निर्वाचनमा मत लगाउन पाइने नियम छ । जसअनुसार क्षेत्रीय प्रतिनिधिमा निर्वाचित ३ सय ६८ जना मतदाताहरुले मतदान गर्न पाउने अधिकार छ । उक्त मतदाता मध्ये ६० प्रतिशत भन्दा बढी हाम्रो टिमले पाउने निश्चित छ ।

र अन्त्यमा … ?
– अन्त्यमा शिवसताक्षीका सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुमा हाम्रो टिमलाई विजयी गराउन अनुरोध गर्दछु । ‘युवा जोश, युवा सोच, युवा शक्ति नै हो सबैको खोज’ भन्ने नारालाई अघि सारेर नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा हाम्रो उम्मेदवारी रहेको हुदां सम्पूर्ण क्षेत्रीय प्रतिनिधिहरुलाई तपाईंको अमुल्य मत दिई अत्यधिक मतले विजय गराइदिन हुन पुनः अनुरोध गर्दछु । धन्यवाद ।

सम्बन्धित खवर