नवौं राष्ट्रिय खेलकुद पुरुष क्रिकेट : नेपाल पुलिस क्लबलाई स्वर्ण पदक - Crazysaptahik.com

नवौं राष्ट्रिय खेलकुद पुरुष क्रिकेट : नेपाल पुलिस क्लबलाई स्वर्ण पदक

नवौं राष्ट्रिय खेलकुदअन्तर्गतको पुरुष क्रिकेटमा विभागीय टोली नेपाल पुलिस क्लबले स्वर्ण पदक हात पारेको छ । शुक्रवार कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको फाइनल खेलमा त्रिभूवन आर्मी क्लबलाई ८ विकेटले पराजित गर्दै पुलिसले स्वर्णपदक हात पारेको हो । वर्षाको कारण ८ ओभरमा छुट्याइएको खेलमा त्रिभूवन आर्मी क्लबले दिएको १ सय ४ रनको टार्गेट पुलिसले ६ ओभर ५ बलमा २ विकेट गुमाएर पूरा गर्यो ।

उसका लागि कुशल भुर्तेलले १९ बलमा ३ चौका र ६ छक्काको मद्दतले ५१ रनको अर्धशतकीय पारी खेलेका थिए । त्यस्तै सुनिल धमलाले १७ बलमा २ चौका र ४ छक्काको सहयोगमा ४२ रन बनाए । आर्मीका लागि जितेन्द्र मुखिया र सुसन भारीले समान १÷१ विकेट लिए । पहिला ब्याटिङ गरेको आर्मीले ८ ओभरमा ७ विकेट गुमाउँदै १ सय ३ रन बनाएको थियो ।

उसका लागि कप्तान विनोद भण्डारीले १४ बलमा ३ चौका र ४ छक्काको मद्दतले ४० रन बनाए । रोहितकुमार पौडेलले १० बलमा ४ छक्काको मद्दतमा २८ रन बनाए भने कुशल मल्लले १३ तथा भीम सार्कीले ११ रन बनाए । पुलिसका लागि ललित राजवंशी तथा गुल्सन झाले समान २÷२ तथा कप्तान दीपेन्द्र सिंह ऐरी र रशिद खानले समान १÷१ विकेट हात पारे ।

यो जितसँगै पुलिसले आर्मीसँग समूह चरणमा व्यहोरेको हारको बदला पनि लिएको छ । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ ।

सम्बन्धित खवर