लर्डबुद्ध साकोसको २० औं साधारणसभा - Crazysaptahik.com

लर्डबुद्ध साकोसको २० औं साधारणसभा

क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरे –२ बुद्धचौकमा स्थापित लर्डबुद्ध बचत तथा सहकारी संस्थाको २० औं साधारणसभा आज सम्पन्न भएको छ ।

संविधानसभाको सभा सदस्य समेत रहनुभएका संस्थाका शेयर सदस्य चण्डीप्रसाद राईले पानसमा बत्ती बालेर उक्त साधारणसभाको उद्घाटन गर्नुभएको थियो ।

संस्थाका अध्यक्ष धनराज राई (अमीर)को अध्यक्षता तथा विशिष्ट अतिथि निवर्तमान नगर प्रमुख दिलिपकुमार राई, वडा नं २ का वडाध्यक्ष नैना राई, वडा नं ३ का विजय लिम्बु, वडा नंं ७ का वडाध्यक्ष उद्ववराज बस्नेत समेतको आतिथ्यतामा सम्पन्न भएको सभामा कोषाध्यक्ष दोर्णबहादुर खड्काले आर्थिक वर्ष २०७८/०७९ को आर्थिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन र आगामी आर्थिक वर्ष २०७९/२०८० को प्रस्तावित बजेट समेत प्रस्तुत गर्नुभएको थियो ।

सोही सभामा संस्थाका सचिव महेन्द्र ढुंगानाले प्रविधिको प्रयोग गरी डिजिटल पावर पोइन्ट मार्फत् चालु आर्थिक वर्षको वार्षिक कार्य प्रगति विवरण तथा आगामी आर्थिक वर्ष २०७९/०८० को प्रस्तावित वार्षिक कार्य योजना पेश गर्नुभएको थियो। उहाँले हाल संस्थाले १८ –१८ प्रकारका बचत तथा ऋण कार्यक्रमहरू संचालन भैरहेको जानकारी दिनुभयो ।

हाल पथरी शनिश्चरे नगरपालिकाभरि मात्रै कार्यक्षेत्र रहेको लर्ड बुद्ध साकोसलाई उत्कृष्ट संस्थाको रूपमा स्थापित गराउने सिलसिलामा २ हजार ७ सय ५१ जना सेयर सदस्यहरूको विश्वासका कारण करिव २० करोडको वासलात भएको संस्थाको रूपमा विकास गरिएको भन्दै उहाँले यसै आर्थिक वर्षमा पथरी शनिश्चरे न.पा.. वडा नं.– ९ पुलचौकमा रहेको संस्करण साकोससँग एकीकरण गर्न सफल भएको बताउनुभयो ।

संस्थालाई नीतिगत रूपमा सञ्चालन गर्नु पर्छ भन्ने अभिप्रायले १६ वटा नीतिहरू र ५ वटा कार्यविधिहरू कार्यान्वयनमा ल्याइएको छ भने आवश्कता अनुसार अन्य नीति तथा कार्यविधिहरू तर्जुमा गरी लागू गरिने जनाउनुभयो ।

बुद्ध चौकमा प्रधान कार्यालय रहेको यस सहकारी संस्थाले हाल आफ्ना ७० वर्ष माथिका ज्येष्ठ शेयरहरूलाई २०७४ सालदेखि मासिक ८ सय ५० का दरले आजीवन भत्ता (पेन्सन) उपलब्ध गराउँदै आएको उल्लेख गर्दै संस्थाबाट मनी ट्रान्सफर कारोबार, खुला रक्तदान कार्यक्रम, शेयर लाभांश वितरण लगायतका विभिन्न कार्यक्रम संचालन गरिरहेको बताउनुभयो ।

उक्त अवसरमा संस्थाका पूर्व संचालकद्वय अर्जुन जम्नेली राई र प्रतिमान राईलाई सम्मान गरिएको थियो । संस्थाको तर्फबाट उत्कृष्ट बचतकर्ताको पुरस्कार भद्रिका राईले प्राप्त गरिन् भने उत्कृष्ट ऋण कारोवारकर्ताको पुरस्कार प्रेम लाल लिम्बु र रिसव गिरीलाई प्रदान गरिएको थियो ।

संस्थाले आफ्नो शेयर सदस्यहरुको सुविधाको लागि १५ दिन अगाडि नै ३ घण्टा १ मिनेटको २० औं वार्षिक साधारण सभाको बारेमा संक्षिप्त वार्षिक आर्थिक प्रतिवेदन तथा भावी कार्ययोजना समेत युट्युबमा प्रकाशित गरिएको संस्थाका व्यवस्थापक गणेश बाछानाले जानकारी दिनुभयो । लर्डबुद्धले समय अनुसार डिजिटल तरिकाबाट उल्लेखनीय कार्यहरु गर्दै आइरहेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.