क्रेजी संवाददाता
पथरी । असोज ५ गतेदेखि सञ्चालन हुने प्रथम पथरीशनिश्चरे गोल्डकपमा ए डिभिजन क्लब सहित ८ टिमले सहभागिता जनाउने भएका छन् ।
पथरी ११ फुटबल क्लबले आयोजना गर्ने गोल्डकप असोज ५ देखी १२ सम्म सञ्चालन हुनेभएको हो । पथरी शनिश्चरे वडा नं. १ को जाँते मोडमा अवस्थित पथरी रंगशालामा हुने प्रतियोगितामा एक भारतीय क्लब सहित ए डिभिजनका क्लव र मोफसलका चलेका क्लबहरु गरी ८ फुटवल क्लवले सहभागिता जनाउन लागेको आयोजक पथरी ११ फुटबल क्लबका अध्यक्ष सुमन विकले जानकारी दिए । गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको विकले जानकारी दिए ।
गोल्डकपका संयोजक जितन राईका अनुसार प्याराफिट बनाउने काम लगभग सकिन लाग्यो । करिब ३ हजार दर्शक अटाउने गरी प्याराफिट निर्माण गरिएको हो ।
मैदान मर्मतको काम पनि अन्तिम चरणमा पुगको छ । संयोजक राईका अनुसार आयोजक पथरी ११, सिराहको सहलेस युथ क्लब, झापा ११ फुटबल क्लब, पाँचथर फुटबल क्लब, भारतको युकेएफसी क्लबले प्रतियोगितामा सहभागिता जनाउने निश्चित भइसकेको छ भने ए डिभिजन क्लब र विभागीय क्लवले छिट्टै नै प्रतियोगिता खेल्ने निश्चित गर्ने बताए । प्रथम पथरीशनिश्चरे गोल्डकप २०८१ को विजेताले ट्रफी सहित ३ लाख पाउने छन् भने उपविजेताले २ लाख रुपयाँ प्राप्त गर्नेछ ।