क्रेजी संवाददाता
पथरी । अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम इन्ट्रा पथरी शनिश्चरे गोल्डकप–२०८१ को खेल तालिका सार्वजानिक गर्दै सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।
पथरी शनिश्चरेको हरियाली सामुदायिक वनको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजक पथरी–११ फुटबल क्लबले गोल्डकपको तयारी पूरा भएको जनाएको हो । खेल संयोजक जितन राईले गोल्डकपको मुख्य सहयोगी, मुख्य प्रायोजक, सह–प्रायोजक र प्रायोजकहरु टुङ्गो लागिसकेको जानकारी गराउँदै गोल्डकपलाई सबैले सहयोग गर्न अपिल गरे । यस्तैगरी आयोजकका अध्यक्ष सुमन विकले खेल तालिका सार्वजानिक गर्दै पुरस्कारहरुको विषयमा जानकारी गराए । करिब ४० लाख लागतमा सम्पन्न हुने गोल्डकपको विजेताले ३ लाख र उपविजेताले २ लाख प्राप्त गर्नेछन् भने हरेक विधागततर्फ पनि पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
असोज ५ गतेदेखि सञ्चालन हुने गोल्डकपमा इन्ट्रा पथरी ११ फुटबल मोरङ, पाँचथर क्लब पाँचथर फिदिम, झापा ११ फुटबल क्लब, धरान सिटी फुटबल क्लब, यु.के.एफ.सी. भारत, संकटा फुटबल क्लब काठमाडौं, बिग्रेड व्वाइज क्लब काठमाडौं र सलहेश युवा क्लब सिरहाले सहभागिता जनाउनेछन् ।
खेल तालिका सार्वजानिक तथा पत्रकार सम्मेलनमा पथरी शनिश्चरे नगरपालिका नगर उप–प्रमुख देविमाया काफ्ले, मोरङ जिल्ला फुटबल संघ अध्यक्ष संजिव बुढाथोकी र पथरी शनिश्चरे नगर खेलकुद विकास समितिका अध्यक्ष दीपक राईले शुभकामना मन्तव्य राखेका थिए ।
आयोजक समितिका सचिव केशर राईले सञ्चालन गरेको सो कार्यक्रममा प्रायोजकका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो ।