टुहुरेको एकल सांगीतिक साँझ - Crazysaptahik.com

टुहुरेको एकल सांगीतिक साँझ

क्रेजी साप्ताहिक
विराटनगर । शनिबार साँझ जनगायक जेबी टुहुरे मञ्चमा पुग्दा सबैले ताली बजार स्वागत गरे ।

जेबी टुहुरे फाउण्डेसनले आयोजना गरेको टुहुरेको एकल सांगीतिक साँझमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईबाट सम्मान गरेपछि उनको प्रस्तुति आरम्भ भएको थियो ।
‘आमा तिम्रो माया कञ्चन पानी जस्तो‘..’ बोलको गीतबाट प्रस्तुति थालेका टुहुरेले दोस्रो गीत छोराहरू हो, छोरीहरू हो, वीर छोराछोरीहरू‘ प्रस्तुत गरिरहँदा हलले ताली बजाएर स्वागत गरेको थियो । ७६ वर्षको उमेरमा पनि युवा जोस जाँगर निकालेर आफ्नो प्रस्तुति राखेका टुहुरेले ‘दुःखको बोझ बिसाउन चौतारी बनाउ है‘ गीत प्रस्तुत गर्दा उपस्थित सबैको ध्यान खिचेको थियो ।

पञ्चयात कालदेखि जनता जगाउने गीत गाउँदै आएका टुहुरेले २६ वर्षको उमेरमा गाएको ‘बसाइँ हिड्नेको ताँतीले, बस्नेको मन रुवाउँछ‘ बोलको गीत युवा जोसको साथ प्रस्तुत गरे ।

टुहुरेले एकल साँझमा कोसीको पानी सलल‘., पानी चल्दैन रे, रगत चल्दछ‘, बरु मेरो छात्ती छेड.. जस्ता १३ वटा गीत प्रस्तुत गरे । टुहुरेले कालजयी गीत आमा दिदी बहिनी हो‘‘‘. सुरु गर्दा सहभागीले चर्को हुटिङ गरेका थिए । मुख्यमन्त्री राई र सामाजिक विकास मन्त्री जीवन घिमिरेसहितले नाचेर साथ दिए ।

करिव २ घण्टासम्म लगातार प्रस्तुति दिएका उनको स्वरमा वृद्धावस्थाको छनक थिएन । उनमा पुरानै जोस थियो । टुहुरेलाई साथ दिएर मुख्यमन्त्री शेरधन राई, सामाजिक विकासमन्त्री जीवन घिमिरे, विराटनगर महानगरपालिका उपप्रमुख इन्दीरा कार्की कार्यक्रमको सुरुदेखि अन्तिमसम्म थिए ।

सम्बन्धित खवर