क्रेजी साप्ताहिक
पथरी । पथरीमा स्थापित सुनाखरी युवा क्लबको आयोजनामा दोस्रो पथरीशनिश्चरे खुल्ला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
यही असोज २९ गतेबाट सुरु हुने प्रतियोगितामा आयोजक सहित ८ टिमको सहभागिता रहने आयोजकले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । प्रतियोगितामा ८१ हजार १ सय ११ रुपैयाँ प्रथम पुरस्कार, द्वितीय हुने टिमले ५१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने बताइएको छ ।
प्रतियोगितामा आयोजक सुनाखरी फुटबल क्लब, योसेक फुटबल क्लब, विभागीय टिम एपीएफ फुटबल क्लब, लेटाङ फुटबल क्लब, पञ्चायन फुटबल क्लब सुनसरी, पथरी स्पोर्टिङ क्लब, दमक फुटबल एकेडेमी र डाँगीहाट फुटबल क्लबको सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम, द्वितीय पुरस्कारको अलावा विधागततर्फ उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट प्रशिक्षक लगायतलाई पुरस्कृत गरिने प्रतियोगिता संयोजक नवीन ढकालले जानकारी दिए । प्रतियोगिताका सम्पूर्ण खेलहरु पथरीशनिश्चरे १ स्थित सुनाखरी खेल मैदानमा संचालन हुनेछ ।
प्रतियोगिता संचालनमा पथरी शनिश्चरे परिवार हङकङ, पथरीशनिश्चरे नगरपालिका लगायतको सहयोग रहने आयोजकले जानकारी गरायो । आयोजकले ८ लाख ५२ हजार रुपैयाँको अनुमानित खर्च लाग्ने बताएको छ ।