अल्ट्रा रनर मिराको क्रेज - Crazysaptahik.com

अल्ट्रा रनर मिराको क्रेज

  • सन्तोष राई

अल्ट्रा रनर मिरा राईको यात्रा निक्कै रमाइलो, दुःखद र निक्कै प्रेरणादायी पनि छ । भोजपुरमा जन्मिएकी उनको यात्रा के मानेमा रमाइलो छ भने नेपालमा जुन खेलको सुरुवात नै भएको थिएन उनले त्यही खेल मार्फत् वल्र्ड रेकर्ड बनाउन सफल भइन् । अन्तर्राष्ट्रिय जगतमा नै नेपालको नाम चिनाइन उनै मिरा राईले अल्ट्रा म्याराथन मार्फत् ।

र, दुःखद चाहिं उनी विकट गाउँमा जन्मिएकी त्यसमाथि माओवादी लडाकुमा भर्ना भइन्, त्यसपछि समायोजनको समयमा भने उनी अयोग्य ठहरिन् । अहिले चाहिं उनी सबैको प्रेरणादायी खेलाडी बन्न सफल भएकी छिन् । उनलाई संसारले चिन्छ । उनको नाम सुन्न साथ हामी आम नेपालीको छाती निक्कै चौडा हुन्छ । हो यही कारण अहिले मिराको ‘क्रेज’ बढेको छ ।

संविधान दिवसको अवसरमा प्रदेश नं. १ ले मिरालाई सम्मान गर्ने भएपछि उनी असोज २ गते विराटनगर विमानस्थलमा ल्याण्ड भएकी थिइन् । उनको त्यहाँ पनि क्रेज देखियो । उनीसँग फोटो खिच्न तछाडमछाड नै चल्यो ।

त्यसपछि उनी आफन्तको घर उर्लाबारी आइन् । भोलिपल्ट अर्थात् असोज ३ गते सम्मान थाप्न प्रदेश नं. १ विराटनगरको दशरथ रंगशाला पुगिन् । त्यहाँ पनि उनीसँग ठूलठूला दर्जाका व्यक्तिहरु र खेलसँग सम्वन्धित व्यक्तिहरु सेल्फी खिच्न तल्लिन रहे । त्यो दृश्यले भनिरहेको थियो क्यामेरा अगाडि होइन ‘रियल हिरो’ मिरा । मिराले प्राप्त गरेको सम्मान पत्रमा लेखिएको थियो– अल्ट्रा म्याराथन खेलको माध्यमबाट नेपालको राष्ट्रिय झन्डा अन्तर्राष्ट्रिय जगतमा फहराउँदै नेपाल राष्ट्र, नेपाली जनता र प्रदेश नं. १ को गौरव बढाउने कार्य गर्नुभएको हुँदा प्रदेश नं. १ सरकारको तर्फबाट तपाईको योगदानको उच्च मूल्यांकन गर्दै आगामी दिनमा अझ सफलताका साथ रु. ५ लाख सहित यो सम्मान पत्र प्रदान गर्दछौं । यो सम्मान पत्रमा लेखिएको शब्दले पनि मिराको क्रेज र हिरोइजम प्रष्ट देखाउँछ ।

असोज ४ गते उनी देखापरिन् तेस्रो उर्लाबारी रन २०१९ मा । तर, त्यहाँ उनी भाग लिन नभएर विशिष्ट अतिथिको आथित्य ग्रहण गर्न । कार्यक्रम स्थल पुग्नसाथ उनले कालो चश्मा चलाइन र भनिन्–‘चश्मा लगाउँदा त कसैले चिन्दैन होला मलाई ।’ उनले यति शब्द के बोलिसकेका मात्र थिए एक जना आर्यन जातको बुढा मान्छे आएर भनिहाले–‘मिरा जी नमस्कार । हजुरसँग मेरो छोरा फोटो खिच्छु भन्छ, छोराले तपाईको बारेमा पढ्नुपर्छ रे ।’ मिराले सहर्ष स्वीकार गर्दै तयार भइहालिन् र फोटो खिचाइन् । यसले पनि मिराको क्रेज र उनलाई गर्ने आदर प्रष्ट झल्काएको थियो ।

सरल र मिलनसार मिरा उर्लाबारी रनको अन्त्यसम्म आयोजक र भेला भएका व्यक्तिहरुसँग फोटो खिचाउँदै बसिन् । र, अन्त्यमा आयोजक सामुदायिक विकास मन्चले उनलाई सम्मान पनि गर्यो ।

सोही दिन उनी काठमाडौं फर्कदै थिइन् । विराटनगर एयरपोर्टमा पुग्नासाथ त्यहा नि सेक्युरिटी गार्ड, प्रहरीहरुले सेल्फी खिच्न घेरिहाले । प्लेन उड्न आट्यो भन्दा पनि एक मिनेट भन्दै करिब १० मिनेट जति मिराको समय फोटो खिचाउँदैमा बित्यो । यसरी हरेक स्थानमा उनको क्रेज बढेको देखिन्छ । अन्त्यमा अबको भावी योजना के छ ? भन्ने क्रेजी डटकम साप्ताहिकको प्रश्नमा उनले भनिन्–‘मैले म जस्तै अल्ट्रा रनरहरु जन्माउनु छ, अहिले म सँग ४÷५ जना खेलाडीहरु तालिममा तल्लिन छन् उनीहरुलाई पनि म जत्तिकै खेलाडी बनाउँछु, देशलाई चिनाउनु छ ।’

सम्बन्धित खवर