क्रेजी साप्ताहिक
पथरी । दोस्रो पथरी शनिश्चरे नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा योसेक क्लब उर्लाबारी विजयी भएको छ ।
बुधबार भएको उद्घाटन खेलमा सुनाखरी फुटबल क्लबलाई २ का विरुद्द ४ गोल गर्दै योसेकले पहिलो चरण पार गरेको हो । सुनाखरी खेल मैदानमा भएको खेलमा पहिलो हाफको १२ औं मिनेटमा माल्दिनी सुब्बाको गोलले अग्रता लिएको योसेकले १६ औं मिनेटमा सन्जय धिमालको गोलबाट अग्रता दोब्बर पारेको थियो ।
टिमको लागि बाकी २ गोल समेत माल्दिनी सुब्बाले गर्दै ह्याट्रिक पूरा गरेका छन् । आयोजक सुनाखरी फुटबल क्लबका लागि भने सुमन राई र देवराज गुरुङले समान १–१ गोल गरे पनि जितका लागि पर्याप्त रहेन ।
सो खेलको मेन अफ द म्याच बिजेता टोलीका ह्याट्रिककर्ता माल्दिनी सुब्बा घोषित हुँदै नगद पुरस्कार र ट्रफी प्राप्त गरे । ८१ हजार १ सय ११ रुपियाँ प्रथम पुरस्कार रहेको प्रतियोगितामा द्वितीय हुने टिमले ५१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछन् ।
पहिलो चरणको दोस्रो खेल (आज विहिबार) पञ्चायन फुटबल क्लब सुनसरी र पथरी स्पोर्टिङ क्लब बिच प्रतिस्पर्धा हुनेछ । कार्तिक ३ र ४ गतेको सेमिफाइनल खेल पश्चात् उपाधिका लागि कार्तिक ६ गते खेल हुनेछ । प्रतियोगिता संचालनमा पथरीशनिश्चरे परिवार हङकङ, पथरीशनिश्चरे नगरपालिका लगायतको सहयोग रहने आयोजकले जानकारी दिएको छ ।