क्रेजी साप्ताहिक
पथरी । न्युज २४ टेलिभिजनबाट प्रशारित कार्यक्रम सिधाकुरा जनतासँगका कार्यक्रम प्रश्तोता रवि लामिछानेसहितका तीन जनाविरुद्ध लागेको आत्महत्या दुरुत्साहन मुद्दामा आज उच्च अदालत हेटौंडामा सुनुवाइ हुँदैछ । लामिछानेले जिल्ला अदालत चितवनको आदेश विरुद्ध हालेको निवेदन तथा जिल्ला अदालतकै आदेशविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले हालेको पुनरावेदनमाथि एकैपटक सुनुवाइ हुन लागेको हो ।
उच्च अदालतका न्यायाधीशद्वय चण्डीराज ढकाल र महेन्द्रनाथ उपाध्यायको इजलासको तेस्रो नम्बरमा यो मुद्दा पेसीमा छ । यसअघि जिल्ला अदालत चितवनले यो मुद्दामा रवि लामिछानेलाई ५ लाख, युवराज कँडेललाई ३ लाख धरौटीमा छाड्न र रुकु भनिने अस्मिता कार्कीलाई साधारण तारेखमा छाड्न आदेश दिएको थियो । यो फैसलाविरुद्ध लामिछानेले भदौ २३ गते उच्च अदालतमा आफूहरुलाई पनि बिना धरौटी साधारण तारेखमा रिहा गरिनुपर्ने मागसहित पुनरावेदन गरेका थिए । लगत्तै भोलिपल्ट २४ गते जिल्ला सरकारी वकिल कार्यालय चितवनले उनीहरुलाई धरौटीमा समेत नछाडी पुर्पक्षका लागि थुनामै पठाउन मागसहित पुनरावेदन गर्यो । यिनै दुई पुनरावेदनको आज सुनुवाइ हुन लागेको हो ।
पुनरावेदनमा यसअघि भएको सुनुवाइमा उच्च अदालतले जिल्लाको फाइल मगाउने आदेश गरिसकेको छ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता लामिछाने ५ लाख धरौटी बुझाइ रिहा भएका थिए । जिल्लाको निर्णय बदरको माग गर्दै उनले निवेदन दिएका थिए । उच्च अदालतमा आज हुने सुनुवाइले जिल्ला अदालतको आदेशको परीक्षण गर्नेछ । जिल्लाले गरेको फैसला बदर वा सदर गर्ने निर्णय उच्चले गर्नेछ ।