क्रेजी साप्ताहिक
पथरी । मौलिकतामा आधारित नेपाली कथानक चलचित्र ‘घरजम’को बिशेष प्रीमियम शो आज (कातिक २ गते) झापाको दमकमा हुँदैछ । चर्चित कलाकार तथा निर्देशक मौसम इम्बुङ ‘फुलेन्देको बाउ’द्वारा निर्देशित ‘घरजम’ पाथीभरा चलचित्र मन्दिर हल दमकमा आज साझ पाँच बजे विशेष प्रर्दशन हुने भएको हो । चलचित्रमा निर्देशक इम्बुङले मान्छे जन्मेपछि मूल तीन कर्म मध्ये बिबाह कर्मको मुख्य कथा ‘घरजम’मा देख्न सकिने बताए । ‘घरजम’ लिम्बू समुदायको जीवन–दर्शनमा आधारीत नेपाली कथानक चलचित्र हो ।
करिब ८५ लाखको लागतमा निर्माण गरिएको घरजमका निर्माता सीताकुमारी तुम्बापो र किशोर कुमार लिम्बू रहेका छन् । चलचित्रका निर्माता तथा कलाकार तुम्बापोले आफुहरुको पैसा कमाउने उद्देश्य नभई भावी सन्ततिलाई आफ्नो देश, भाषा, संस्कार–संस्कृति र परम्परासँग परिचित गराउँन कला क्षेत्र सबैभन्दा प्रभावकारी माध्यम हुने ठहर गर्दै चलचित्र निर्माणमा हात हालेको बताइन् । । ‘घरजम’ व्यवसायिक रुपमा समेत नेपाली सिने उद्योगमा राम्रै प्रतिस्पर्धी चलचित्र हुने उनको बिश्वास छ । उपेन्द्र सुब्बाद्वारा लिखित चलचित्र ‘घरजम’ मा बुद्धि तामाङ, सृजना सुब्बा, यासेली योङहाङ, कुशल थलङ, हेमराज अन्छङबो, रवी सेर्मा (रणबीर), शैलेन्द्र थेबे, बबिता फोम्बो लगायतलाई काष्ट गरिएको फिल्मको पहिलो विशेष प्रिमियम शो दमकबाट सुरु गरिएको विशेष प्रदर्शनी समितिका संयोजक शैलेन्द्र थेबेले बताएका छन । थेबेका अनुसार देशभरका मल्टिप्लेक्स तथा सिङ्गल थिएटर गरी ८० भन्दा बढी चलचित्र हलमा प्रर्दशन गर्ने लक्ष्य रहेको छ । चलचित्र ‘घरजम’लाई ‘घुम्ती’ शैलीमा समेत प्रर्दशन गर्ने योजना रहेको छ ।
घुम्ती प्रर्दशन अन्तर्गत इलामका १०, पान्थरका ८, ताप्लेजुङका ९, तेह्रथुमका ६, धनकुटाका ७ र संखुवासभाका १० गरी ५० वटा स्थानी तहमा प्रर्दशन गर्दै विदेशका १० भन्दा बढी स्थानमा ‘विशेष’ प्रर्दशनीको तयारी रहेको संयोजक थेवेले बताए । दमक प्रदर्शनका संयोजक वनेम बिक्रम फागोले दमक आसपासका करिब १२ सय दर्शकले फिल्म हेर्ने गरेका छन् ।