
क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका क्षेत्रमा कोरोना संक्रमण दिनदिनै बढ्दै गएपछि नगरपालिका कार्यालयले नगरवासीमा स्वास्थ्य सतर्कताको अनुरोध गर्दै शुक्रबार माइकिङ गरेको छ ।
कोरोना बढेसँगै नगरपालिका र वडा कार्यालयले आजबाट कार्तिक ६ गतेसम्मका लागि कामकाज बन्द गरेको छ । जनप्रतिनिधि, स्वास्थ्य सहितका नगरका कर्मचारीमा समेत कोरोना संक्रमण बढदै गएपछि कोरोना भाइरस जोखिम न्यूनीकरण नगरस्तरीय समन्वय समिति र पथरी शनिश्चरे नगर कार्यपालिकाको हिजोको संयुक्त बैठकले त्यस्तो निर्णय गरेको नगर प्रबक्ता यामप्रसाद गुरागाइले जनाउनु भयो ।
उहाँले नगर अस्पताल, शनिश्चरे स्वास्थ्य चौकी र १ नम्बर वडाको शहरी स्वास्थ्य केन्द्रको सेवा समेत अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको बताउनुभयो । कार्यालयको अत्यावश्यक सेवा र स्वास्थ्य सस्थाबाट दैनिक औषधि सेवन गर्नेका लागि औषधि वितरणको प्रबन्ध गरिने छ ।
ती कार्यालयमा कार्यरत कर्मचारीहरुको पीसीआर परीक्षणको रिपोर्ट आएपछि रिपोर्टका आधारमा कार्यालय के कसरी सञ्चालन गर्ने भन्ने निर्णय हुने उल्लेख छ । दैनिक तथा साप्ताहिक हाट बजार समेत बन्द गर्ने निर्णय भएको छ ।
समन्वय समिति संयोजक एवम नगर प्रमुख दिलीपकुमार राइको अध्यक्षतामा बैठक बसेको थियोे । अध्यक्ष राइले कोरोना सन्क्रमितहरुको सीघ्र स्वास्थ्यलाभको कामना गर्दै नगरवासीलाइ अत्यन्तै स्वास्थ्य सतर्कता अपनाउन अनुरोध गर्नुभएको छ ।
वडाध्यक्ष सहितका जनप्रतिनिधि, स्वास्थ्यकर्मी र नगरका कर्मचारी तथा समुदायका समेत गरी विहीवार ८ जनामा कोरोना देखिएपछि आकस्मिक बैठक बसेर अनिवार्यरुपमा भौतिक दूरी कायम गर्न, मास्क लगाउन, साबुन पानीले हात धुन र सेनिटाइजर लगाउन अनुरोध गरिएको हो । १२ बर्ष मुनीका बालबालिका र ज्येष्ठहरुलाई थप सतर्क बन्न समेत अनुरोध छ । बुधबारमात्र नगरका कर्मचारी सहित ९ जनामा कोरोना भाइरस देखिएको थियो ।
अहिलेसम्म जनप्रतिनिधि, स्वास्थ्य सहितका नगरका कर्मचारी र समुदायका गरि ४३ जना, क्वारेन्टिनमा रहेका १६ जना र बाहिरबाट संक्रमीत भएका समेत नगरका कुल ७२ जनामा कोरोना देखिएको छ ।

