
क्रेजी संवाददाता
उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकाले ५४ जना ज्येष्ठ नागरिकलाई आज सम्मान गरेको छ ।
नगरपालिकाले ३१ औ अन्तराष्ट्रिय ज्येष्ठ नागरिक सम्मान दिवसको अवसर पारेर ९० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो ।
‘सवै उमेर समूहको लागि विद्युतीय प्रविधिको प्रयोगमा समानता’ भन्ने नाराका साथ देशभर ज्येष्ठ नागरिक दिवस मनाइदैछ । सोही अवसरमा उर्लाबारी नगरपालिकाले पनि वडा नम्वर १ देखि ९ नम्वर वडा सम्मका प्रत्येक वडाबाट ६ जनाका दरले ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको हो ।
ज्येष्ठ नागरिकहरुलाई नगर प्रमुख खड्ग बहादुर फागोले खदा र प्रतिव्यक्ति नगद रु. २ हजार प्रदान गरेर सम्मान व्यक्त गर्नुभएको हो ।
नागरिक सम्मान कार्यक्रममा बोल्दै नगर प्रमुख फागोले ज्येष्ठ नागरिक जिउदो इतिहास भएका कारण उहाहरुलाई जुनसुकै तवरले पनि सम्मान गर्नुपर्ने बताउनुभयो । सो कार्यक्रममा नगरपालिकाकै सवैभन्दा पाको उमेरका २ जना ज्येष्ठ वडा नम्वर २ बाट १०३ वर्षका डिकमाया बराल र धनमाया तामाङ वडा नम्वर ७ बाट १०० वर्ष उमेर पुग्नुभएका रत्नमाया शाक्य रहनुभएको थियो ।

