रेडस्टारमा ‘महिला सशक्तिकरण’ परियोजनाका सन्दर्भमा जानकारी - Crazysaptahik.com

रेडस्टारमा ‘महिला सशक्तिकरण’ परियोजनाका सन्दर्भमा जानकारी

क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरे नगर उपप्रमुख एवम् न्यायिक समिति संयोजक यमुना विष्ट वास्तोलाले आज वडा नम्बर २ मा अवस्थित रेडस्टार बोर्डिङ स्कुलका विद्यार्थीहरुलाई नगरमा हुने न्याय सम्पादनका विषयमा जानकारी गराउनु भएको छ ।

सिकाईलाई थप प्रभावकारी बनाउन ब्रिटिस काउन्सिलको समन्वयमा विद्यालयले आयोजना गरेको ‘महिला सशक्तिकरण’ परियोजनाका सन्दर्भमा उपप्रमुख वास्तोलाले कक्षा १० का विद्यार्थी माझ न्याय सम्पादनका विषयमा जानकारी गराउनुभएको हो ।

बास्तोलाले महिला हिंसा सम्बन्धी नै बढी उजुरी नगरमा आउने गरेको जनाउँदै नगरले सशक्तिकरणका लागि महिलाहरुलाई चेतनामुलक र सीपमुलक तालिमहरु सञ्चालन गरिरहेको पनि वताउनुभयो । साढे ४ वर्षको अवधिमा १ हजार ९ सय बढी उजुरी मेलमिलाप गरिएको तथ्यांक उल्लेख गर्नुभयो । उहाँले हाल आएर पुरुषमाथिको हिंसा समेत बढ्दै गएको जनाउनुभयो ।

उहाँले न्यायिक समितिले १३ प्रकारको उजुरी हेर्न मिल्ने उल्लेख गर्दै पथरी शनिश्चरे १ नम्बर प्रदेशमै बढी उजुरी मेलमिलाप गराउने पालिका बनेको र सरकारले गरेको स्वमुल्यांकनमा पनि न्याय सम्पादनमा शतप्रतिशत अंक ल्याउन सफल भएको खुसीको अवस्था सुनाउनु भयो । नगरले ‘छात्रासँग उपप्रमुख’ कार्यक्रम अघि बढाउने निर्णय गरेको जानकारी गराउँदै कुनैपनि तबरले हिंसामा पर्न नहुने र हिंसा पिडकलाई कारवाहीको दायरामा ल्याउनु पर्ने भन्दै सवै पक्षलाई सचेत वन्न आग्रह गर्नुभयो ।

सरकारले सञ्चालनमा ल्याएको विद्यालयमा अध्ययनरत किशोरीहरुका लागि निःशुल्क सेनिटरी प्याड वितरण कार्यक्रम किशोरीहरुलाई महिनावारीको समयमा मानसिक हिंसाबाट केहि सहज बनाउने उपाय भएको पनि उल्लेख गर्नुभयो । स्कुलका प्रिन्सिपल टीएन तिम्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यार्थीहरुले उपप्रमुखसँग न्याय सम्पादन तथा महिला सशक्तिकरण सम्बन्धी जिज्ञासा राखेका थिए ।

सिकाईको दायरा फराकिलो बनाउने परियोजना अन्तर्गत सो स्कुलले भारतको एउटा स्कुलसँग भगिनी सम्बन्ध स्थापना गरेर अन्र्तराष्ट्रिय स्कुल अवार्ड २०२०/२१ का लागि सिकाइको प्रभावकारितातर्फ पहिलो परियोजना ‘महिला सशक्तिकरण’ सम्बन्धी अघि बढाएको शिक्षक राजु तिम्सिनाले जनाउनुभयो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.