
लङसिंङ श्रेष्ठ
लेटाङ । मोरङको लेटाङ नगरपालिका वडा नं. ९ बाह्रगोठेमा जारी नकआउट फुटबल प्रतियोगितामा बुधबार भएको दोस्रो क्वाटरफाइनल खेलमा विजयी हुँदै सगरमाथा क्लब लेटाङ सेमिफाइनल प्रवेश गरेको छ ।
छत्रपुर क्लब मिक्लाजुङलाई सगरमाथाले ३–० गोल अन्तरले जित दर्ता गर्दै विजयी भएको हो । खेलको २७ औं मिनेटमा सगरमाथाका तुलसी भुजेलले हेड मार्फत् सही दिशा दिएर गोल गरेका थिए । यस्तै खेलको नबित्दै ४३ औं मिनेटमा तुलसीले नै उत्कृष्ट गोल गर्दै खेललाई २–० को अग्रता दिलाए । तर, सगरमाथाका सरोज राईले सोही लयमा मात्र सीमित राखेनन् । खेलको ४५ औं मिनेटमा थप गोल गर्दै छत्रपुरलाई ३–० गोलले पराजित गरेको हो । छत्रपुरले धेरै राम्रा राम्रा अवसर पाएता पनि सही सदुपयोग गर्न नसक्दा नसक्दा ३–० गोलको हार बेहोर्नु परेको थियो । खेलको म्यान अफ दि म्याच सगरमाथा क्ल्ब लेटाङका तुलसी भुजेल घोषित भए । सो म्यान अफ दि म्याच उर्लाबारीका दुर्गा फागोले प्रायोजन गरेका थिए ।

प्रतियोगितालाई लेटाङ वडा नं. ९ लेटाङ नगरपालिका र कोपिला सामुदायिक वन उपभोक्ता समूहले प्रायोजन गरेका छन् । जम्मा १६ टिमले सहभागिता जनाउने सो प्रतियोगिताको फाइनल असोज २६ गते सप्तमीको दिन हुने जनाइएको छ । प्रतियोगितामा विजेता टिमलाई नगद २५ हजार रुपैयाँ र उपविजेता टिमलाई नगद १५ हजार रुपैयाँ साथमा ट्रफी, मेडल प्रदान गरिने आयोजक बाह्रगोठे युवा क्लबका अध्यक्ष पूर्ण विश्वकर्माले जानकारी दिए ।
आजको क्वाटरफाइनल खेल वारङ्गी युवा क्लब लेटाङ भर्सेस लेटाङ भेट्रान लेटाङ बिच मिक्लाजुङ–५ धानखेती चन्द्रमा बिद्यालय को खेल मैदानमा ठिक ३ः०० बजे हुने आयोजकले जानकारी दिएको छ ।

