बक्राहा र डाँस खोला कटानले सयौं विगाहको धानबाली नोक्सान - Crazysaptahik.com

बक्राहा र डाँस खोला कटानले सयौं विगाहको धानबाली नोक्सान

क्रेजी संवाददाता
पथरी । अविरल वर्षाको कारण बाढीले मोरङको पथरीशनिश्चरे–५ हसन्दह क्षेत्रमा ४ स्थानमा बाँध फुटाएर बक्राहा नदी बस्तीमा पसेपछि पथरीशनिश्चरे नगरपालिकाले सो को आज अनुगमन गरेको छ ।

गएराति स्थानीय पौडेल चौक पूर्व २ स्थानमा र सुगा बजार पूर्व १ ठाउँमा बक्राहा नदीले बाँध फुटाएको छ । त्यस भन्दा पूर्व बक्राहाको पूर्वी खण्डमा पर्ने मौलीबारीमा पनि बाँध फुटाएर नदी वस्तीमा पसेको छ । जसबाट वडाका दर्जनौं घर डुवानमा परेका छन् । सयौं विगाहा क्षेत्रको पाकेको धानवाली नष्ट भएको अनुगमन समितिले जानकारी लिएको छ ।

नगर उपप्रमुख एवम् अनुगमन समिति संयोजक यमुना बिष्ट बास्तोला, अनुगमन् सदस्य एवम् २ नम्बर वडाध्यक्ष यामप्रसाद गुरागाई, कार्यपालिका सदस्य मैनादेवी फूयल आचार्य, ५ नम्बर वडा सदस्य चेतेन्द्र खड्का, सवइन्जिनियर दीपक आचार्य सहितको टोलीले अनुगमन् गरेको हो । पौडेल चोक पूर्व २ स्थान र सुगा पूर्वमा सानो बाँध फुटाएर बाढी वस्तीमा पसेको तथा पानीझरीले पाकेको धानवाली नष्ट पारेको अवस्थाको अनुगमन् गरेको छ । बाढीले होचो स्थानमा रहेका घरहरुका कुखुरा, हाँस, खाद्यान्नमा पनि क्षति पुर्याएको छ ।

अनुगमनका क्रममा १ दर्जन बढी घर पानीले डुवानमा परेर समस्या परेका पीडित परिवारलाई भेटी क्षतिको अवस्थाका बारेमा भोली बस्ने नगर कार्यापालिका बैठकमा जानकारी गराउने उपप्रमुख बास्तोलाले जनाउनुभयो । उहाँले बाँध फुटाएको ठाउँमा नगरका प्राविधिक पठाएर तत्काल त्यसको रोकथामको उपाय खोज्ने बताउनु भयो । साथै त्यहाँ ठूलो खर्चमा व्यवस्थित बाँध नबाँधे समस्या भइरहने जनाउँदै संघीय सरकारले यस अघ तय गरेको बक्राहा डाँस नदी नियन्त्रण कार्यक्रम तत्काल सुचारु गर्ने पहलका लागि प्रदेश मन्त्रालयमा समेत जानकारी गराउनु भयो ।

हसन्दह क्षेत्र समेत पर्ने निर्वाचन क्षेत्र नम्बर २ बाट प्रदेशसभामा निर्वाचित सांसद एवम् आन्तरिक मामिला तथा कानून राज्यमन्त्री लिलाबल्लभ अधिकारीलाई समेत सोको ध्यानाकर्षण गराउनु भएको छ । यस अघि पनि पटक पटक बाँध फुट्दा सयौं घर डुवानमा परेर धनमालको क्षति व्यहोर्दै आएका हसन्दहबासी लगातारको वर्षाका कारण रातभरजसो जागै बसेका छन् । त्यहाँ नदीको सतह वढ्दै गएर बाढी वस्तीमा पस्न सहज बन्दै गएको छ ।

डाँस खोलामा आएको बाढीले वडा नम्बर १० को जिरिखिम्ती, ९ र १० को सीमा क्षेत्रमा कटान गरेको अवस्थाको पनि अनुगमन भएको छ । कटान भएको क्षेत्रमा वहाव परिवर्तनका लागि वडा नम्बर १० को जागृति टोल पश्चिमको मलामी टहरा दक्षिणमा च्यानलाइज गर्ने काम थालिएको छ ।

जिरिखिम्तीको डाँस खोला पुल उत्तरमा खोलाको बहाव सिधा पार्न र ९ नम्बरको आदर्श सीता आधारभूत विद्यालयको खेल मैदान जोगाउन पनि स्काभेटरको प्रयोग गर्न लगाइने छ । वडा नम्बर १० को पशुपतिनगर क्षेत्र पनि बाढीले जोखिममा पारेको छ । साथै टोलीले वडा नम्बर १० को निर्माणाधिन आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवनको पनि अनुगमन गरेको छ ।

 

सम्बन्धित खवर