च्याम्पियन्स लिग : रोनाल्डोको गोलमा युनाइटेडको पुनरागमन जित - Crazysaptahik.com

च्याम्पियन्स लिग : रोनाल्डोको गोलमा युनाइटेडको पुनरागमन जित

इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडले युरोपियन च्याम्पियन्स लिगमा शानदार पुनरागमन गर्दै इटालियन क्लब एटलान्टालाई ३–२ ले पराजित गरेको छ । घरेलु मैदान ओल्डट्राफोर्डमै दुई गोलले पछि परेको स्थितिमा युनाइटेडले पुनरागमन गर्दै लगातार तीन गोल गरेको हो ।

पहिलो हाफमा एटलान्टाले दुई गोल गरेको थियो भने दोस्रो हाफमा युनाइटेडले तीन गोल फर्कायो । यसमा क्रिस्टियानो रोनाल्डोले निर्णायक गोल गरे । उनले ८१औं मिनेटमा गोल गर्दै युनाइटेडको जित पक्का गरे । त्यसअघि ५३औं मिनेटमा मार्कुस रासफोर्ड र ७५औं मिनेटमा ह्यारी मगुएरले गोल गर्दै खेल बराबरी गरेका थिए ।

एटलान्टाका लागि १५औं मिनेटमा मारियो पासालिक र २९औं मिनेटमा मेरिह डेमरिलले गोल गर्दै सुरुमै दुई गोलको अग्रता दिलाएपनि त्यसलाई कायम राख्न सकेन ।जितपछि समूह एफमा तीन खेलबाट ६ अंक जोड्दै युनाइटेड शीर्ष स्थानमा उक्लेको छ । समान खेलबाट चार अंक रहेको एटलान्टा दोस्रो स्थानमा छ ।

यसै समूहको अर्को खेलमा स्पानिस क्लब भियारियालले स्वीस क्लब योङ ब्वाइजलाई ४–१ ले पराजित गरेको छ । भियारियालका लागि जेरार्ड मोरेनोले दुई तथा येरेमी पिनो र सामुएल चुकवुजेले एक÷एक गोल गरे । जितपछि तीन खेलबाट चार अंक जोडेको भियारियाल तेस्रो स्थानमा छ । योङ ब्वाइज तीन अंकसहित पुछारमा छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.