
एएफसी यू–२३ एसिया कप छनोटको पहिलो खेलमै नेपाल इरानसँग ४–० ले पराजित भएको छ । समूह बी अन्तर्गत ताजिकिस्तानको दुसानबेमा भएको खेलमा नेपालले दोस्रो हाफमा कमजोर प्रदर्शन गर्दा चार गोल बेहोरेको थियो ।
रिपब्लिकन सेन्ट्रल रंगशालामा भएको खेलमा नेपालले पहिलो हाफमा इरानलाई गोलरहित बराबरीमा रोकेको थियो । पहिलो हाफमा इरानले पेनाल्टी समेत गुमाएको थियो । दोस्रो हाफमा भने इरानले चार गोल गर्न सफल भयो । इरानका लागि खेलको ४७औं मिनेटमा मेहदीले पहिलो गोल गरेका थिए ।
यसका लागि होसेनले ७७ औं र ७९ औं मिनेटमा गोल गरे भने यासिनले इन्जुरी समयमा गोल गरे । इरानले जितपछि ३ अंक जोड्दा नेपालले हारबाट प्रतियोगिता शुरुवात गरेको छ । नेपालले अब बिहीबार दोस्रो खेल आयोजक ताजिकिस्तानसँग खेल्नेछ ।
यस्तै अन्तिम खेल आइतबार लेवनानविरुद्ध हुनेछ । छनोटमा कुल ११ समूहमा प्रतिस्पर्धा हुनेछ र हरेक समूहको विजेतासँगै उत्कृष्ट चार उपविजेता पनि यू–२३ एसियन कपमा छनोट हुनेछ ।


