बेलबारी गोल्डकप : च्यासललाई स्तब्ध पार्दै रोलिङ क्लब झापा विजयी - Crazysaptahik.com

बेलबारी गोल्डकप : च्यासललाई स्तब्ध पार्दै रोलिङ क्लब झापा विजयी

क्रेजी संवाददाता
बेलबारी । चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप २०७८ आजबाट सुरु भएको छ । पहिलो दिनको खेलमा बराबरी भएपछि ट्राईबेकरमा ४/३ गोल अन्तरले च्यासल युथ क्लब काठमाडौँलाई स्तब्ध पार्दै रोलिङ क्लब धुलाबारी झापा विजयी भएको छ ।

खेल सुरुवात भएको १२ मिनेटमै च्यासलका रुपेश वर्ताेलाको पास पाएका सुसन लामाले गोल गर्दै टिमको खाता खोलेका थिए । खेलको निर्धारित समया भर च्यासलले अर्को गोल थप्न सकेन । निकै प्रतिस्पर्धात्मक भएको खेलको दोस्रो हाफको २२ औं मिनेटमा झापाबाट खेलेका विदेशी खेलाडी हेन्थी वेलेले वान इन वान गोल गर्दै खेललाई बराबरीमा पु¥याउन सफल भए । निकै प्रतिस्पर्धात्मक रहेको खेलमा दुबै टिमले गोल थप्न सकेन ।

ट्राईबेकरमा रोलिङ क्लब धुलाबारी झापाका मार्टिन सिलो, जोन जुरु, वविन बोहरा र पेमा तामाङले गोल गरे भने च्यासलका अजित गुरुङ, मौसुवा अवगना र केट्हा यानिकले गोल गर्न सफल भए भने कमल श्रेष्ठ र अर्वीन राईको बल गोल हुन सकेन ।

खेलको ३० मिनेटमा झापाका रोहन कार्कीको उत्कृष्ट प्रहार असफल भएको थियो । त्यसै गरी ४३ मिनेटमा झापाका विकास लिम्बुले प्रहार गरेको बल पोलमा ठोक्किँदै बाहिरिएको थियो भने दोस्रो हाफको २० मिनेटमा च्यासलका अजित गुरुङको राम्रो प्रहार गोल हुन सकेको थिएन । खेलको म्यान अफ दि म्याच रोलिङ क्लब धुलाबारी झापाको गोल रक्षक मनोज प्रधान घोषित भए । च्यासल युथ क्लब काठमाडौंबाट खेल्न आएका विकास मिराग्लियाको खेल हेर्न दर्शकहरुको ओइरो लागेको थियो । तर, विकासले भने खासै आफ्नो खेल घतलाग्दो खेल्न सकेन । उनले प्रतियोगिताको समय अवधिभर कमै मात्र बल पाएका थिए ।

भोलि (शुक्रबार) सशस्त्र प्रहरी बलको एपीएफ क्लब काठमाडौं र भारतको रोयल फुटबल क्लब सिलिगुडी बिच हुने आयोजकले जनाएको छ ।  प्रतियोगितामा नेपाल र भारतका ८ वटा टिमको सहभागिता रहनेछ । सशस्त्र प्रहरी बलको एपीएफ क्लब काठमाडौं, हिमालयन शेर्पा क्लब, च्यासल क्लब, आयोजक डीवाईसी मोरङ, रोलिङ क्लब झापा, गाईघाट फुटबल क्लब उदयपुर, राजारानी क्लब धनकुटा र भारतको रोयल फुटबल क्लब सिलिगुडीले प्रतियोगितामा सहभागिता जनाउने आयोजकले जनाएको छ ।

प्रतियोगितामा विजेता टिमले ५ लाख र उपविजेता टिमले २ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । यस्तै प्रत्येक खेलमा म्यान अफ दी म्याचले ५ हजार ५ सय, प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले ३१ हजार, सर्वाधिक गोलकर्ताले २१ हजार तथा उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्डर, स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकले ११÷११ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.