टी–२० क्रिकेट : वेष्ट इण्डिजले बंगलादेशलाई ३ रनले हरायो - Crazysaptahik.com

टी–२० क्रिकेट : वेष्ट इण्डिजले बंगलादेशलाई ३ रनले हरायो

साविक विजेता वेस्ट इण्डिजले आईसीसी टी–२० विश्वकप क्रिकेटमा पहिलो जित हात पारेको छ । सुपर १३ अन्तर्गत शुक्रबार भएको खेलमा वेष्ट इण्डिजले बंगलादेशलाई ३ रनले पराजित गरेको हो ।

यसअघि लगातार दुई खेल हारेको वेस्ट इण्डिजले ग्रुप १ मा पहिलो जितपछि ३ खेलमा २ अंक जोडेको छ । लगातार तेस्रो हारपछि बंगलादेश अंकविहीन छ । वेस्ट इण्डिजले दिएको १४३ रनको लक्ष्य पछ्याएको बंगलादेशले २० ओभरमा ५ विकेट गुमाएर १३९ रन मात्र बनाउन सक्यो ।

जितका लागि बंगलादेशलाई अन्तिम ओभरमा १४ रन आवश्यक थियो । तर आन्द्रे रसेलले बलिङ गरेको उक्त ओभरमा बंगलादेशले १० रन मात्र जोड्न सक्यो । बंगलादेशका लिटोन दासले सर्वाधिक ४४ रन बनाए भने कप्तान महमुदउल्लाहले अविजित ३१ रन बनाए ।

वेस्ट इण्डिजका रबि रामपाल, ड्वाने ब्राभो, जासन होल्डर, आन्द्रे रसेल र अकिल होसेनले १–१ विकेट लिए ।त्यसअघि पहिले ब्याटिङ गरेको वेस्ट इण्डिजले २० ओभरमा ७ विकेट गुमाएर १४२ रन बनाएको थियो ।

वेस्ट इण्डिजका लागि निकोलस पुरनले सर्वाधिक ४० रन बनाए । यस्तै रोस्टन चेसले ३९ रन जोडे । जासन होल्डरले अविजित १५ रन बनाए ।बंगलादेशका मेहदी हसन, मुस्ताफिजुर रहमान र शोरिफुल इस्लामले २–२ विकेट लिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.