नवौं वृहत राष्ट्रिय खेलकुद अन्तर्गत एथ्लेटिक्सको १५ सय मिटर दौडमा महिलातर्फ फुलमति राना र पुरुषतर्फ मुकेश पालले स्वर्ण पदक जितेका छन् । महिलातर्फ १५ सय मिटरमा दौडमा सशस्त्र प्रहरी बलकी फूलमतिले स्वर्ण पदक जितेकी छन् ।
फूलमतिले विभागीय एपिएफको लागि एथ्लेटिक्सको पहिलो स्वर्ण जितिन् । फुलमतिले ४ मिनेट ३८.१९ सेकेन्डमा निर्धारित दूरी पूरा गरिन् । यस्तै, त्रिभुवन आर्मी क्लबकी सरस्वती भट्टराईले ४ मिनेट ४१ सेकेन्डमा निर्धारित दूरी पार गर्दै रजत पदक जितिन् ।
५ मिनेट ०३.८० सेकेन्डमा निर्धारित दूरी पार गरेकी आर्मीकै रेखा लिम्बुले कास्य जितिन् । पुरुषतर्फको दौडमा त्रिभुवन आर्मी क्लबका मुकेशले स्वर्ण पदक जिते । मुकेशले निर्धारित दूरी ३ मिनेट ५२.२१ सेकेन्डमा पूरा गरे ।
एपिएफका अजित यादवले ३ मिनेट ५३.११ सेकेन्डमा निर्धारित दूरी पार गर्दै रजत पदक जितेका छन् । नेपाल पुलिस क्लबका नागेश्वर अहिर ३ मिनेट ५६.५ सेकेन्डमा दूरी पार गर्दै कास्य जित्न सफल भए । महिला १० हजार मिटरमा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्णपदक जितेकी छिन् ।