क्रेजी समाचारदाता
पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. ७ लामाटोलीमा अवस्थित दुर्गा माध्यमिक विद्यालयको टोलीले सुझाव संकलन गर्न घरदैलो अभियान सञ्चालन गरिरहेको छ ।
विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, विद्यालयका शिक्षक, कर्मचारी, अभिभावक र सरोकारवाला सेवा क्षेत्रको प्रत्येक घरमा सुझव संकलन गर्न घरदैलो अभियानमा छ ।
असोज ११ गतेबाट सुझाव संकलन गर्न सुरु गरेको घरदैलो अभियान दैनिक रुपमा बिहान ७ बजेदेखि ११ बजे संचालन गरिरहेको विद्यालयका सहायक प्रधानाध्यापक केशव न्यौपानेले जानकारी गराए ।
पथरी शनिश्चरे नगरपालिकाको शिक्षा शाखाबाट विद्यार्थी संख्या न्यून भएको र यस्तै रहेमा कक्षा घटुवा हुने पत्रचार गरेपछि विभिन्न कार्यक्रम गर्दै आएको यस विद्यालयले हाललाई घरदैलो अभियान संचालन गरिरहेको छ ।
असोज ११ गतेदेखि आज असोज १९ गते सम्म करिब ५ सय घरमा गएर सुझाव लिने काम भएको सोही विद्यालयमा कार्यरत शिक्षिका लक्ष्मी नेपाल बस्नेतले बताइन् ।
विद्यालयको खस्कदो अवस्थालाई मध्यनजर गरेर घरदैलो गर्दा अभिभावकबाट राम्रा सुझाव आएको र त्यसलाई अनुमोदन गर्दै कार्यान्वयनको पाटोमा लगिने विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष उद्धवराज बस्नेतले बताएका छन् ।