क्रेजी संवाददाता
पथरी । प्रथम वडाध्यक्ष भेट्रान्स पथरी शनिश्चरे गोल्डकप फुटबल प्रतियोगिता २०८१ को उपाधि आयोजक पथरी शनिश्चरे भेट्रान्सले आफ्नो पोल्टामा पारेको छ ।
बुधबार भएको फाइनल खेलमा आयोजकले उर्लाबारी भेट्रान्सलाई २–० गोल अन्तरले स्तब्ध पार्दै उपाधिमाथि कब्जा जमाएको हो ।
प्रस्तावित पथरी रंगशालामा भएको फाइनल खेमा आयोजकका विक्रम लिम्बुले ४२ र ५३ औं मिनेटमा उत्कृष्ट गोल गर्दै आफ्नो टिमलाई जितको सुनिश्चिता दिलाउँदै उपाधि जिएको हो ।
खेलमा आयोजकका बुद्ध चेम्जोङ भेट्रान्स अफ दि म्याच घोषित भए । यस्तैगरी सर्वाधिक गोलकर्ता उर्लाबारी भेट्रान्सका खेम पोख्रेल घोषित भए ।
विजेता आयोजक टिमले नगद रु. १ लाख १ हजार, उप–विजेता उर्लाबारी भेट्रान्सले ५५ हजार ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्न सफल भए । कार्यक्रमका प्रमुख अतिथि पथरी शनिश्चर वडा नं. २ का अध्यक्ष नैना राईले विजेता तथा उपविजेता टिमलाई पुरस्कार वितरण गरेका थिए । पथरी शनिश्चरे भेट्रान्सका अध्यक्ष टिकाराम राईले प्रतियोगिताको समापन गर्दै आगामी दिनमा यस प्रतियोगितालाई निरन्तर रुपमा अगाडि बढाउने बताए ।