राजारानी प्रती सरकार उदासिन - Crazysaptahik.com

राजारानी प्रती सरकार उदासिन

लेटाङ- उत्तरी मोरङ्गस्थित लेटाङ्गका बासिन्दाहरुले नेपाल सरकार यहाँको पर्यटन प्रर्वद्धनमा उदासीन भएको गुनासो गरेका छन् ।

सरकारले देशको पर्यटन प्रर्वद्धन एवं विस्तार गर्न घोषणा गरेको नयाँ सय गन्तव्यहरुको सुचीमा लेटाङ्ग १ मा रहेको धिमाल जातिको उदगमस्थल राजारानीलाई नसमेटिएको भन्दै उनीहरुले सरकारसँग गुनासो गरेका हुन् । ऐतिहासिक राजारानीको संरक्षण गर्दै आएको राजारानी संरक्षण समितिका पुर्वअध्यक्ष दलबहादुर मगरले मोरङ्गका अन्य क्षेत्र जस्र्तै राजारानीलाई पनि समेट्न सकेको भए प्रदेश १ कै पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने बताए । उनले भने, ‘तर उत्तरी मोरङ्गको पर्यटकीय क्षेत्रलाई उपेक्षा गरियो, हामी ज्यादै दुःखी छौं।’


मोरङ्गको लेटाङ्ग नगरपालिकाको १ मा पर्ने राजारानी क्षेत्रमा राजारानी मन्दिर, राजापोखरी, रानी पोखरी, राजकुमारी पोखरी, धिमाल ग्रामथान रहेको छ । यो क्षेत्रमा विश्वमै अन्यत्र नपाइने ३ जातका सुनाखरी पाइन्छन् भने जंगल भरीमा ४८ जातका सुनखरी फुल्ने गरेको छ । यो क्षेत्रलाई सुनाखरीको राजधानी पनि भनिन्छ । स्थानीयबासीको पहलमा यहाँ होम स्टे पनि सञ्चालन गरिएको छ ।

पोखरीमा गत वर्षदेखि नेपाली सेनाको सहयोगमा बोटिङ सुरु गरिएको छ । लेटाङ्ग बजारदेखि ६ किलोमिटरको दुरीमा पुग्न सकिने राजारानीको उचित प्रचार नहुदा यो क्षेत्रमा पर्यटन भित्राउन नसकिरहेको पुर्वअध्यक्ष मगर बताउँछन । ‘प्रचार प्रसारको कमीले ओझेलमा परेको प्राकृतिक सम्पदाको चर्चा देशमा हुन सकेको छैन,’ उनले भने,’झन् सरकारले पनि यो क्षेत्र विकासका लागी वास्ता गरेन ।’ ओझेलमा रहेको यो पर्यटकीय क्षेत्र अस्थायी राजधानी विराटनगरबाट करिब ४५ किलोमिटर उत्तरपुर्वमा रहेको छ । राज्यको आँखामा नपरेको र प्रचारप्रसारबाट पनि ओझेलमा परेको यो क्षेत्रलाई भर्खर सरकारले घोषणा गरेको नयाँ गन्तव्य सुचीमा पनि समेट्न सकेन ।

बाटोको समस्या

बाटोको समस्याले पनि राजारानीमा पर्यटक पुग्न सकेका छैनन् । कानेपोखरीबाट लेटाङ्गसम्म पक्की सडक भएपनि त्यस पछि बाटो ग्राभेल छ । राजारानीको फेदी भनिने लोखराबाट त झन बर्षामा गाडी गुडाउनै समस्या हुने मगर बताउँछन् । राजारानी व्यावस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर मगर पनि सरकारले यो क्षेत्रका विकासका लागि ध्यान नदिएकोमा गुनासो गर्छन ।

तत्कालिन जिल्ला विकास समितिले आर्थिक बर्ष २०७०/७१मा ३ लाख ३९ हजार रकम विनियोजन गरेको र अरु स्थानीयबासीको जनश्रमदानमा अहिलेको अवस्थामा राजारानी भएको अध्यक्ष मगरले बताए । यो क्षेत्रमा हिउँद याममा ठुलो संख्यामा पिकनिक खाने आन्तरिक पर्यटक आउने भएपनि अन्य समयमा पर्यटक भित्राउन नसकिएको मगर बताउँछन् ।

धिमाल जातिको उत्पत्तिस्थल

राजारानीलाई धिमाल जातिको उत्पत्तिस्थल मानिन्छ । बैशाख २ गते पुर्वक्षेत्रमा बसोबास गर्ने धिमालहरुको जात्री पर्व यहीबाट सुरु हुन्छ । उक्त दिन ठुलो मेला लाग्ने गरेको राजारानी मन्दिरका पुजारी लोकबहादुर मगर बताउँछन् । मन्दिरमा भाकल वुुझाउने र दर्शन गर्नेको संख्या ठुलो भएपनि वर्षभरी मन्दिरमा पर्यटक भित्राउन सके यहा सञ्चालित होम स्टे पनि चल्ने उनी बताउँछन् । मोरङ्गको लेटाङ्गमा रहेको यो पर्यटकीय स्थलमा सञ्चालित होम स्टे को प्रचार प्रसारका लागी सहयोग गर्न पनि अध्यक्ष मगरले आग्रह गरेका छन् ।

सम्बन्धित खवर