करन राईको चार गोलको मद्दतमा पाहुना टोली एफसी सिक्किम फराकिलो जितका साथ हाम्रो पूर्वाञ्चल गोल्डकपको क्वाटरफाइनल प्रवेश गरेको छ ।
झापाको बिर्तामोडमा अवस्थित डोमलाल राजवंशी रंगशालामा जारी प्रतियोगिता अन्र्तगत शनिबारको खेलमा सिक्किमले आयोजक जायोन स्पोटर्स् क्लबको चुनौती ५–२ गोल अन्तरले पन्छाएको हो ।
पहिलो हाफमा १–० ले पछि परेको आयोजक टोलीले दोस्रो हाफमा दुई गोल फर्काउँदै थप चार गोल खान पुग्यो । खेलको २९औँ मिनेटमा पाहुना टोलीका लागि करन राईले सुरुवाती अग्रता दिलाएका थिए। गोलरक्षक अभिषेक रिजालको हातबाट फुत्केको रिबाउन्ड बललाई करणले गोल पोस्टको दिशा दिए ।
यस्तै दोस्रो हाफ सुरु भएको ६ मिनेट नवित्दै करनले व्यक्तिगत दोस्रो गोल गरे। २–० ले पछि परेको अवस्थामा आयोजकका तपन कार्कीले ६०औँ मिनेटमा गोल गर्दै खेलमा फर्किएको संकेत गरेका थिए। खेलमा आयोजकले सिक्किमको गोल पोस्टमा थुप्रै आक्रमण बुने पनि गोलरक्षक मनोज प्रधान विफल तुल्याइदिएका थिए ।
खेलको ८४औँ मिनेटमा गणेश राईले गोल गरेपछि आयोजक थप दबाबमा र्पयो। खेलमा ३–१ को अग्रता बनेको एक मिनेट नबित्दै करनले ह्याट्रिक पूरा गरे । आयोजकका टंकु लामाले ४० मिनेटपछि गोल गर्दै अग्रता कम गर्ने प्रयास गरेका थिए। तर, इन्जुरी समयमा करणले थप गोल गरेपछि आयोजकको यात्रा प्रि–क्वाटरबाटै टुङ्गियो ।
चार गोल गरेका करन म्यान अफ दि म्याच घोषित हुँदै नगद १० हजार प्राप्त गरे । गोल्डकपमा नेपाल र भारतका १० टिम सहभागी छन्। आइतबार झापा ११ एफसीले नेपाल पुलिस टिमसँग प्रतिस्पर्धा गर्नेछ । गोल्डकपको विजेताले नगद १२ लाख ५० हजार रुपैयाँ पाउँदा उपविजेताले नगद ६ लाख २५ हजार र ट्रफी पाउनेछ ।
विधागत पुरस्कार विजेता खेलाडीले जनही १५ हजार रुपैयाँ पाउँदा उत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउनेछ । यसअघि भएको औपचारिक कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले गोल्डकपको उद्घाटन गरेका थिए ।
–थाहा खबर