हसिली तुलसाको सक्रियता - Crazysaptahik.com

हसिली तुलसाको सक्रियता

हसिली लुक्स र मिलनसार व्यवहार हो यही कारणले हुनसक्छ उनी भइन् मिस पथरीशनिश्चरे २०१९ कि फस्ट रनरअप । उनी हुन् तुलसा नेम्बाङ । नयाँ कुरा सिक्न, सिकाउन र स्टेज कार्यक्रम सञ्चालन गर्न औधी रुचि छ उनलाई ।

पथरी बहुमुखी क्याम्पसमा स्नातक तह अध्ययन गर्दै गरेकी उनी मोडलिङका साथै शिक्षण पेशामा पनि सक्रिय छिन् । सामाजिक कार्यमा व्यस्त तपाई कसरी सुन्दरी प्रतियोगितामा भाग लिनुभयो ? उनले भनिन्–‘मान्छेको वास्तविक व्यक्तित्व ऐनाले समेत प्रष्ट प्रतिविम्वित नगर्ने भएकोले आफूले आफैंलाई नियाल्न, आफ्नो क्षमता मापन गर्न, धैर्यवान बनाउन सहयोग गर्ने मन्च सुन्दरी प्रतियोगिता भएकोले मैले भाग लिएकी हुँ ।’

यतिमा मात्र उनी सीमित छैनन् स्थानीय समुदायमा रहेको इन्द्रेणी बाल चेतना क्लबको अध्यक्ष सम्हालिसकेकी उनी लिम्बु विद्यार्थी मञ्च मोरङको सचिव र स्व.वि.यु. पथरी बहुमुखी क्याम्पसको कोषाध्यक्षको भूमिका निभाइरहेकी छिन् । कलाकारितामा उनी दयाहाङ राई, झरना बज्रचार्य, धिरज मगर, जसिता गुरुङको अभिनय अत्यन्तै मन पराउँछिन् । उनीहरुकै कलाकौशल देखेर उनी पनि मोहित भएको सुझाउँछिन् । कलाकारिता मात्रै होइन उनी सामाजिक कार्यमा सक्रियताका साथ अघि बढिरहेकी छिन् ।

एक असल गुरु भएर परिचित हुन मन पराउँने तुलसा गीत संगीतप्रेमी पनि हुन्, उनी गीत सुनेर आनन्द लिने पनि गर्छिन् । उनलाई म्यूजिक भिडियोमा अभिनय गर्न अफरहरू आइ नै रहेका छन् तर, उनले समय दिन सकेका छैनन् । यसमा उनलाई थोरै भएनि ग्लानी खड्केको छ । भावी योजना के छ ? भन्ने प्रश्नले उनले भनिन्–‘आफ्नो पेशालाई बढावा दिँदै विभिन्न संघ संस्थासँग आवद्ध भई समाजकै निम्ति योगदान दिन चाहन्छु ।’

सम्बन्धित खवर