क्रेजी साप्ताहिक । कात्तिक १६ गते शनिबार बिहान गुल्मीको चन्द्रकोट गाउँपालिका–२ स्थित हर्राचौरको जंगलमा तीन वटा शव भेटिए । जसमध्ये एक महिला र दुई बालबालिका रहेका छन् । अन्दाजी २७ वर्षीया महिला, ११ र सात सात वर्षीया बालिकाको शव जङ्गलमा भेटिएको थियो । महिला र एक बालिकाको शव १० मिटर र अर्को बालिकाको शव २० मिटरको दूरीमा फेला परेको थियो । तर, अहिलेसम्म पनि उक्त शवको न त पहिचान हुनसकेको छ, न त हत्यारा नै पत्ता लागेको छ ।
शव भेटिएको स्थान वरपर नजिकमा कतै पनि बस्ती छैन । झाडी र अप्यारो भिर मात्र । तर, शव भेटिएको करीब २०० मिटर तल भने खर्क र खेतबारी पर्दछन् । त्यसैले पनि यस घटनाबाट चन्द्रकोटका हर्राचौर, विशुखर्क, हरेवा, शान्तिपुर तथा बागलुङको गलकोट लगायत आधा दर्जनभन्दा बढी गाउँ त्रसित बनेका छन् । जङ्गलको बीचमा शव फेला परेकोले प्रहरीलाई अनुसन्धानमा पनि कठिनाइ भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी मीन घलेले आफूहरु शव पहिचानमै केन्द्रित भएको प्रतिक्रिया दिएका छन । यसम्बन्धमा गुल्मी प्रहरीले हुलिया तयार पारी कसैका परिवारका सदस्य भए प्रहरी कार्यालयमा जानकारी दिन आग्रह गरेको छ ।
गुल्मीको साथसाथै बागलुङलगायत विभिन्न जिल्लाका प्रहरी कार्यालयमार्फत आग्रह गरेपनि अहिलेसम्म कसैले कतै पनि आफन्त हराएको सूचना प्रहरी कार्यालयमा दर्ता गराएका छैनन् । जसले गर्दा मृत भेटिएका महिला र बालिकाको पहिचानमा समस्या हुनुका साथै घटना पनि रहस्यमय बन्दै गएको छ । गुल्मी, पाल्पा, स्याङ्जालगातका छिमेकी जिल्ला कही पनि सो हुलिया मेल खानेगरी उजूरी परेको छैन ।