क्रेजी साप्ताहिक
शिवसताक्षी । झिलझिले बजारमा अवस्थित साइनो बचत तथा ऋण सहकारी संस्थाले आफ्नो सेवा केन्द्र शिवसताक्षी– २ मंगलबारे बजारमा पनि सुरू गरेको छ ।
साइनाले मंगलबारे बजार क्षेत्रका व्यापार व्यावसाय गर्दै आउनुभएका व्यापारीहरूका लागि विशेष सेवा प्रदान गर्ने हेतुले सेवा केन्द्र सुरू गरेको हो । आइतबार शाखा कार्यालयमा एक औपचारिक कार्यक्रम गरी सेवा केन्द्रको समुद्घाटन गरिएको हो ।
समुद्घाटन कार्यक्रममा बोल्दै शान्ति आधारभूत विद्यालयका प्रधानाध्यापक विष्णु भट्टराईले आफ्ना कुरा राख्दै भन्नुभयो – ‘मंगलबारे बजारमा साइनो साकोस साइनो जोड्नका लागि न्यानो आतिथ्यता हामीले पाउँनेछौं ।’
यस्तै नगदेबाली कृषी सहकारी संस्थाका अध्यक्ष बलजित राईले पनि सफलताको शुभकामना व्यक्त गरे । कार्यक्रममा प्रमुख अतिथि समेत रहेका मंगलबारे बजार व्यवस्थापन समितिका अध्यक्ष तथा व्यवसायी भीम नेम्बाङले भने–‘साइनो साकोसको नामसँग जोड्दै व्यक्ति, परिवारमा पनि साइनोको महत्व रहेको हुन्छ र आर्थिक क्षेत्रमा पनि साइनो साकोसको महत्वपूर्ण भूमिका होस् भन्ने शुभकामना दिन चाहन्छु ।’
साकोसको मंगलबारे बजारमा सुरू गरेको सेवा केन्द्रको कार्यालय नयाँ सेवा केन्द्र सुरू गरेको अवसरमा एक हप्ताको लागि सेयर खरिदका लागि पनि खुल्ला गरिएको सहकारीका सचिव अनिलदेव राईले जानकारी गराए । साकोसका अध्यक्ष दिपक कुमार मेन्याङबो (विकेन)को अध्यक्षता, सचिव अनिलदेव राईको सञ्चालन तथा साकोसका प्रवन्धक दिलकुमारी मगरको स्वागत मन्तव्य रहेको थियो ।