एजेन्सी । आइतबार एसी मिलानलाई १–० गोल अन्तरले पराजित गर्दै युभेन्टस इटालियन लिगको शीर्ष स्थानमा कायम रहन सफल भएको छ ।
स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको स्थानमा मैदानमा प्रवेश गरेका पाउलो डिबालाले खेलको ७७ औँ मिनेटमा युभेन्टसका लागि निर्णायक गोल गरेका थिए ।
यता, आफूलाई सब्सटिट्युट गरिँदा रोनाल्डो प्रशिक्षक माउरिजियो सारीसँग रुष्ट देखिएका थिए । उनी मैदानबाट निकालिने बित्तिकै सिधै टनेलभित्र छिरेका थिए ।
रोनाल्डोलाई खेलको ५५ औँ मिनेटमा नै मैदानबाट निकालिएको थियो । गत सिजन युभेन्टस आएपछि उनी यति चाँडो मैदानबाट निकालिएको पहिलो पटक हो । त्यस्तै, उनी लगातार दुई खेलमा सब्सटिट्युट गरिएको पनि पहिलो अवसर हो ।
मैदान छाड्दै गर्दा रोनाल्डोले म्यानेजर सारीसँग रिस पोख्दै टनेलतर्फ हानिएका थिए । इटालियन पत्रिकाका अनुसार खेल सकिन अघि नै रोनाल्डोले स्टेडियम पनि छाडेका थिए । गत बुधबार च्याम्पियन्स लिगमा सब्सटिट्युट गरिँदा पनि ३४ वर्षीय खेलाडी क्रुद्ध देखिएका थिए ।