झन महँगिए सन्दीप - Crazysaptahik.com

झन महँगिए सन्दीप

नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा लेग स्पिनर सन्दीप लामिछाने सिजन २०२० को पाकिस्तान सुपर लिग (पिएसएल) टी–२० फ्रेन्चाइज क्रिकेट प्रतियोगिताको ड्राफ्टमा समावेश भएका छन् । ड्राफ्टमा सन्दीप विदेशी खेलाडीको ’प्लाटिनम’ श्रेणीमा परेका छन् ।

सन्दीपसँगै २८ जना विदेशी खेलाडी ’प्लाटिनम’ श्रेणीमा समावेश हुन सफल भएका छन् ।
ड्राफ्टबाट टिममा छनोट हुन सफल भएमा खेलाडीले कम्तिमा १ लाख ४७ हजार डलर (१ करोड ६९ लाख रुपैयाँ) देखि २ लाख १८ हजार डलर (२ करोड ५१ लाख रुपैयाँ) प्राप्त गर्नेछन् ।

प्लाटिनमको रकम अघिल्लो वर्ष भन्दा घटाइएको हो। अघिल्लो सिजन १ लाख ६० हजार डलर देखि २ लाख ५० हजार डलर राखिएको थियो । सन्दीप अहिलेसम्ममा बढी रकममा आबद्ध भएको ’द हन्ड्रेड’ लिगमा हो। आगामी वर्ष इंग्ल्यान्ड र वेल्समा हुने तय ’द हन्ड्रेड’ (१०० बलको फ्रेञ्चाइज क्रिकेट प्रतियोगिता) मा ओभल इन्भिसिबल्समा सन्दीप १ लाख पाउन्ड (१ करोड ४७ लाख २५ हजार रुपैयाँ) आबद्ध भएका थिए ।

आगामी फेब्रुअरीमा पाकिस्तानमा हुने तय पिएसएलको खेलाडी छनोटका लागि नोभेम्बरको अन्त्यमा ’ड्राफ्ट’ हुनेछ । ड्राफ्टमार्फत पिएसएलका ६ टिमले खेलाडी आ–आफ्नो टिममा आबद्ध गर्नेछन् ।

पिएसएलमा इस्लामावाद युनाइटेड, कराची किङ्ग्स, लाहोर क्वालन्डर्स, मुल्तान सुल्तान्स, पेशावर जल्मी र क्वेटा ग्लाडियर्टसबीच प्रतिस्पर्धा हुनेछ । ड्राफ्टमा टिमहरुले ३ जना प्लाटिनम, ३ जना डाइमन्ड, ३ जना गोल्ड, ५ जना सिल्भर र २ जना इमर्जिङ क्याटागोरीमा रहेका खेलाडी आबद्ध गर्नु पर्नेछ ।

एक टिमले कम्तिमा १६ खेलाडी राख्नु पर्नेछ। जसमा ११ जना पाकिस्तानी र ५ जना विदेशी खेलाडी टिममा आबद्ध गर्न पाइनेछ। यस्तै थप २ जना खेलाडी आबद्ध गर्नु परेमा १ जना पाकिस्तानी र १ जना विदेशी खेलाडी राख्न पाइने नियम छ । गत सिजनमा सन्दीपले लाहोरबाट खेलेका थिए ।

सन्दीप बाहेक ड्राफ्टमा नाम समावेश गर्नका लागि पाँच जना नेपाली क्रिकेटर सिफारिस गरिएको थियो । नेपाल क्रिकेट संघ (क्यान) ले तीव्र गतिका बलर करण केसी, अलराउन्डर पवन सर्राफ, स्पिनर ललितनारायण राजवंशी, ब्याट्सम्यान मोहमद आरिफ शेख र विकेटिकपर ब्याट्सम्यान विनोद भण्डारीको नाम सिफारिस गरेको थियो । पाँचै जनाको नाम पाकिस्तान क्रिकेट बोर्डलाई पठाएको थियो। तर पाँचै जनाको नाम ड्राफ्टमा पर्ने वा नपर्ने निश्चित भने छैन ।
– सेतोपाटी

सम्बन्धित खवर