सफारी र अटो चालक ‘ह्वील लक’ को विरोधमा आन्दोलित - Crazysaptahik.com

सफारी र अटो चालक ‘ह्वील लक’ को विरोधमा आन्दोलित


क्रेजी साप्ताहिक । विराटनगरका सिटी सफारी र अटो चालक गलत ठाउँमा पार्किङ गरेका सवारी साधनलाई ट्राफिक प्रहरीले लगाउने ‘ह्वील लक’को विरोध गर्दै आन्दोलित बनेका छन् । नियम उल्लंघन गर्दा पनि कारबाही हुन हुँदैन भन्ने आशयको आन्दोलन गरेका उनीहरुले ट्राफिक प्रहरीले लगाएर दुःख दिइरहेको गुनासो गरे । जसका कारण आफूहरु अन्यायमा परेको दाबी उनीहरुको छ । पार्किङ निषेध गरिएका ठाउँमा पार्किङ गरिएका सवारी साधनमा ट्राफिक प्रहरीले ‘ह्वील लक’ लगाएर ट्राफिक नियम उल्लंघनको कसूरमा न्यूनमत पाँच सय रुपैयाँसम्म जरिवाना गर्न थालेको छ ।

‘ह्वील लक’ लगाएर आफूहरुलाई अन्यायमा पारिएको भन्दै महेन्द्र चोकमा अटो र सफारी तेस्र्याएरै शुक्रबार आन्दोलन गरिएको छ । जसका कारण सडक अवरुद्ध हुँदा केही बेर सवारी आवागमन प्रभावित बन्यो । पार्किङ निषेध गरिएको ठाउँमा पार्किङ गरेको पाइएपछि दुईवटा अटोमा ट्राफिकले ‘ह्वील लक’ लगाएको थियो । त्यसको विरोधमा आन्दोलन भएको हो । विभिन्न जनचेतनामुलक कार्यक्रममार्फत पटक–पटक सचेत गराए पनि अटेर गरेपछि कारबाही गर्दा आन्दोलन गरिएको ट्राफिक प्रहरीले जनाएको छ । ट्राफिकले नियमको धज्जी उडाउँदै चालकले मनोमानी गर्न पाउनु प¥यो भन्ने आशयको आन्दोलन गरेको प्रष्ट हुने दाबी गरेको छ । ‘ह्वील लक’को विरोधमा रहेको चालकहरुको एउटा समूह डेलीगेसनका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङमा पनि पुगेको थियो । नियमसंगत रुपमा गुनासो सुनुवाई हुने जवाफ पाएपछि त्यहाँबाट फर्किएका उनीहरुले आन्दोलन फिर्ता लिए ।

विराटनगर महानगरपालिका–१ घर भएका चालक रवि मिश्रले ट्राफिक प्रहरीले आफूहरुमाथि अन्याय गरिरहेकाले त्यसको विरोधमा आन्दोलन गर्नु परेको बताए । अर्का चालक विराटनगर–१४ क गिरिजानन्द यादवले पनि कमाई खानलाई ट्राफिक प्रहरी बाधक बनेको गुनासो गरे । दिनभरी कमाएको पैसा एक पटक ‘ह्वील लक’ लगाइदियो भने ट्राफिक प्रहरीलाई बुझाउँदै ठिक्क हुने उनको भनाइ छ ।नियम मिच्ने सवारी साधनलाई जस्तो सुकै आन्दोलन भए पनि कारबाही गरिने मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राकेशकुमार पोदाले बताए । एक÷दुई पटक सम्झाई बुझाई गरेर सचेत गराउँदा पनि नलागेमा भने कारबाही गर्ने गरिएको उनको भनाइ छ । कुनै सवारी साधनले नियम उल्लंघन गरेको छ या छैन भन्ने राम्ररी छुट्याएरै नियम संगत ढंगबाट कारबाही गर्ने गरिएको पोदारको भनाइ छ । विराटनगरमा तीन हजार बढी सिटी सफारी र अटो सञ्चालनमा हुन सक्ने ट्राफिक प्रहरीको अनुमान छ ।

पुर्वेली न्युजबाट

सम्बन्धित खवर