वेल्सको अजरवैजान माथि महत्वपुर्ण जित - Crazysaptahik.com

वेल्सको अजरवैजान माथि महत्वपुर्ण जित

एजेन्सी । वेल्सले महत्वपुर्ण जित हात पार्दै युरोकप २०२० मा छनोट हुने सम्भावना जीवितै बनाएको छ । शनिबार राति भएको खेलमा वेल्सले अजरवैजान माथि २–० को महत्वपुर्ण जित हात पारेको हो । वेल्सको जितमा किफर मोरी र ह्यारी विल्सनले गोल गरे ।

जितसँगै वेल्सले समूह ‘ई’ मा ७ खेलबाट ११ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । अब समूहको अन्तिम खेलमा हंगेरीलाई पराजित गर्न सके वेल्सले युरोकपमा स्थान बनाउनेछ । बराबरी या हारले वेल्सको सम्भावना सकिनेछ । हंगेरीलाई पनि युरोकपमा स्थान बनाउन जित आवश्यक छ । बराबरीले अर्काे खेलको नतिजा कुर्नुपर्ने हुन्छ ।

शनिबार राति भएको खेलमा दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । १०औं मिनेटमा मोरीले तथा ३४औं मिनेटमा विल्सनले गोल गर्दै वेल्सलाई पहिलो हाफमा २–० को अग्रता दिलाए ।

दोस्रो हाफमा दुवै टोलीले गोलका केही मौकालाई सदुपयोग गर्न नसक्दा वेल्स विजयी हुन सफल भयो । हारसँगै अजरवैजान १ अंकसहित पुछारमा छ । स्लोभाकिया १० अंकसहित चौथो स्थानमा छ । यही समूहको अर्काे खेलमा युरोकपमा स्थान बनाइसकेको क्रोएसियाले स्लोभाकियामाथि ३–१ को जित निकालेको छ । क्रोएसियाको जितमा निकोला भ्लासिक, ब्रुनो पेटकोभिक र इभान पेरिसिसले गोल गरे ।

पराजित टोलीका लागि रोवर्ट बोजेनिकले गोल गरे । क्रोएसियाले पछि परेको स्थिति उल्ट्याएर जित हात पारेको हो । ६६औं मिनेटमा स्लोभाकिया १० खेलाडीमा समेटिएको थियो । क्रोएसियाको ८ खेलबाट १७ अंक छ ।

सम्बन्धित खवर