एस्टन भिल्लामा अस्मिता अनुबन्धित - Crazysaptahik.com

एस्टन भिल्लामा अस्मिता अनुबन्धित

एजेन्सी – नेपालीकी फुटबलर अस्मिता आले इंग्लिस क्लब एस्टन भिल्लामा अनुबन्धित भएकी छिन् । उक्त क्लबको युथ एकेडेमीबाट हुर्किएकी अस्मिताले शुक्रबार क्लबसँग प्रथम व्यवसायिक सम्झौता गरेकी हुन् ।

एस्टन भिल्लाको उमेर समूहको टिममा लगातार उत्कृष्ट प्रदर्शन गरेसँगै क्लबले अस्मितासँग शुक्रबार व्यवसायिक सम्झौता गर्दै क्लबमै राख्न सफल भएको हो । उनको सम्झौता रकम भने खुलाइएको छैन । १८ वर्षे डिफेन्डर अस्मिता ८ वर्षको उमेरमा क्लबको एकेडमीमा आबद्द भएकी थिइन् ।

‘व्यवसायिक रूपमा फुटबल खेल्ने मेरो सपना हो । क्लबमा व्यवसायिक रुपमा अनुबन्धित हुन पाउँदा खुशी लागेको छ,’ सम्झौतापछि अस्मिताले भनिन्, ‘मलाई एस्टन भिल्ला र स्टाफले भविष्यको लागि यही राख्ने कुरा थाहा पाँउदा आत्मविश्वास बढाएको छ ।’

अस्मिताले २०१७(१८ को सिजनमा उत्कृष्ट प्रदर्शन गर्दै क्लबका खेलाडी, व्यवस्थापक र समर्थकलाई प्रभावित पारेकी थिइन् । अस्मिताले इंग्ल्याण्डको यू–१९ राष्ट्रिय फुटबल टिमबाट पनि खेलिसकेकी छिन् । अस्मिताले युइएफए वुमन्स यु–१९ च्याम्पियनसिप छनोटमा केही खेल खेलेकी थिइन् । आलेको प्रदर्शनले उनलाई अहिलेसम्म सिनियरको भन्दा राम्रो खेल देखिएको र उनी भविष्यमा ठुला स्टार बन्ने मुख्य प्रशिक्षक गेम्मा डेभिसले बताइन् । ‘उनी आफ्नो करयरको शुरुवातमा छिन् । मलाई लाग्छ उनीमा धेरै सम्भावना र सम्भाव्यता छ । उनले आफैले आफैलाई प्रमाणित गरेकी छिन् ।’

तनँहु दमौली पुख्यौली घर रहेका अस्मिताका बुवा अमृत आले पुर्व गोरखा सैनिक हुन् । उनीहरु हाल बेलायतमा बसोबास गर्दै आइरहेका छन् । परिवार नै बेलायतमा रहेपछि अस्मिताले यस्तो मौका पाएको हो । बुवा अमृत पनि स्क्वासका पुर्व राष्ट्रिय खेलाडी हुन् ।

सम्बन्धित खवर