कानेपोखरी गापाद्धारा १५ कृषकलाई पावर टिलर वितरण - Crazysaptahik.com

कानेपोखरी गापाद्धारा १५ कृषकलाई पावर टिलर वितरण

क्रेजी संवाददाता
कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिका कार्यालयले ५० प्रतिशत अनुदानमा १५ ओटा पावर टिलरहरू(सानो ट्याक्टर) कृषक, कृषि फार्म र कृषि समुहहरूलाई वितरण गरेको छ ।

आज मंगलबार पालिकाको परिसरमा आयोजित एक औपचारिक कार्यक्रमका बिच सो पावर टिलर पालिका अध्यक्ष ताराबहादुर काफ्ले, उपाध्यक्ष राममती इङ्नाम, प्रमुख प्रशासकीय अधिकृत गायत्र श्रेष्ठ लगायतले प्रदान गरेका हुन । पावर टिलर प्राप्त गर्नेमा रमाइलो कृषि फार्म, लालीगुराँस कृषि समूह, जनसेवा मावी रमाइलो, चन्द्रबहादुर बस्नेत, शिवबहादुर कठेत कानेपोखरी -६ बाट, भोलानाथ/भगवती/मुक्तिप्रसाद अधिकारी, हरिप्रसाद पौडेल, धान्यप्रसाद अधिकारी -७ बाट, वडा नं. १ बाट गजेन्द्र बहादुर भट्टराई, ३ बाट टंकमाया कृषि फार्म, ५ नं. बाट बिहारीलाल थारू र रखिलाल चौधरी, त्यसैगरी वडा नं. २ बाट तेजबहादुर श्रेष्ठ र ४ नं. बाट अविन्द्र कुमार घिसिङ र रुद्रप्रसाद रिमाल रहेका छ्न ।

गाउँपालिकाले खरिद गरेको १६ वटा पावर टिलरहरू मध्येबाट १५ ओटा वितरण गरिएकोमा एउटा भने पालिकबाट पुनः कृषक छनोट गरि वितरण गरिने कृषि शाखा प्रमुख सागर पौडेलले बताए ।
कार्यक्रममा बोल्दैँ पालिका अध्यक्ष ताराबहादुर काफ्लेले प्रती पावर टिलरलाई २ लाखमा खरिद गरी कृषकलाई ५० प्रतिशत अनुदानमा १ लाख रुपैयाँ लिएर वितरण गरिएको बताए। उनले भने, ‘कृषि क्षेत्रका लागि पालिका स्तरबाट प्रत्येक आर्थिक वर्षमा प्रशस्तै रकम विनियोजन भइरहेको छ तर हामीले सा-साना प्रकारका कृषक लक्षित धेरै कार्यक्रमहरू गरेका छौँ’, समयसमयमा कृषकलाई आवश्यक पर्ने कृषि सामाग्रीहरू प्रदान, बिऊबिजन बाँड्ने, कृषि तालिम, कृषि पेशामा लागेर कसरी स्वरोजगार बन्न सकिन्छ भन्ने उद्धेश्यलक्षित कार्यक्रमहरू निरन्तर गरिरहेका हुन्छौं सो कारणले पनि कृषिमा एकैपटक ठूलो लगानी नगरिएकोले यस क्षेत्रमा प्रशस्तै लगानी नभएको होकि भन्ने शंका जनतामाझ रहेको हुनसक्ने काफ्लेले सुनाए । अहिलेसम्ममा पालिकाबाट ३०० सयको हाराहारीमा स्यालो ट्युबेल वितरण भइसकेकोले यसपटक मकै छर्ने मेसिन प्रदान गर्ने सोच रहेको उनले बताए ।

प्रमुख प्रशासकीय अधिकृत गायत्र श्रेष्ठले ०७७/७८ को कार्यक्रमबाट पावर टिलरहरू खरिद गरिए पनि विभिन्न प्राविधिक कारणहरूले गर्दा हालसम्म वितरण गर्न नसकिएको बताए । सो पावर टिलरले कृषि पेशामा कृषकलाई थप सहजता प्रदान गर्ने कुरामा विश्वस्त रहेको सुनाए ।

 

 

 

 

सम्बन्धित खवर