
क्रेजी संवाददाता
शिवसताक्षी । झापाको शिवसताक्षीमा प्रथम एनी फाक्तेप गोल्डकप २०७८ हुने भएको छ । फाक्तेप फुटबल क्लबको आयोजनामा आगामी मंसिर ११ गतेदेखि १८ गतेसम्म फुटबल प्रतियोगिता हुने आज पत्रकार सम्मेलन मार्फत् जानकारी गराएको हो ।
गोल्डकपमा झापा, इलाम, मोरङ, सुनसरी र सिन्धुली ५ जिल्लाबाट ८ टिमले सहभागिता जनाउँनेछन् । जसअन्तर्गत इलाम फुटबल क्लब इलाम, जलथल एफ.सीं झापा, फाक्तेप फुटबल क्लब (आयोजक), पथरी स्पोटिङ क्लब मोरङ, काँकडभिट्टा फुटबल क्लब झापा, धरान फुटबल क्लब सुनसरी, रोयल स्पोटिङ क्लब दमक र दुधौली स्पोटिङ क्लब सिन्धुली रहेका छन् ।
प्रतियोगितामा प्रथम र द्वितीय हुने टिमले क्रमशः १ लाख १ हजार र ५१ हजार ट्रफी, मेडल, प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तैगरी म्यान अफ द सिरिज र हाइस्कोरले नगद रु. ५ हजार र ट्रफी हजार, उत्कृष्ट फरवर्ड, उत्कृष्ट मिडफिल्ड, उत्कृष्ट किपर, उत्कृष्ट डिफेन्सले नगद रु. ३ हजार र ट्रफी प्राप्त गर्नेछन् । हरेक खेलको म्यान अफ द म्याचले २ हजार नगद र ट्रफी प्राप्त गर्ने खेल संयोजक सन्तोष थेगिम (हन्डु)ले प्रेसमिटमा जानकारी गराए ।

शिवसताक्षी–७ को श्री बाल सेवा आधारभूत विद्यालयको खेल मैदानमा हुने प्रतियोगिताको कूल अनुमानित खर्च १८ लाख २० हजार लाग्ने आयोजकले जानकारी गराएको थियो । आजको पत्रकार सम्मेलनमा मुख्य प्रायोजक एनी ब्राण्डका प्रमुख सन्तोष थोप्राले आयोजकलाई एक सेट फुटबल जर्सी प्रदान गरेका थिए ।
फाक्तेप फुटबल क्लबका अध्यक्ष बमप्रसाद चेम्जोङको अध्यक्षतामा भएको प्रेसमिटमा स्वागत मन्तव्य आर्थिक समितिका सदस्य अनिल लिम्बुले राखेका थिए । गोल्डकपलाई चुस्त दुरुस्त बनाउन आर्थिक रुपमा विदेशमा रहेका निकेश खत्री र सुवास लिम्बुले महत्वपूर्ण भूमिका खेलेको अध्यक्ष बमप्रसाद चेम्जोङले बताए ।

