क्रेजी संवाददाता
पथरी शनिश्चरे। जनताका समस्याहरूको समाधान , उपलब्धिको संरक्षण, संविधानमा उल्लेख भएका खराब कुराहरूको संसोधन गर्दै अगाडि बढ्ने प्रतिबद्धताका साथ गठबन्धनको सरकारमा रहँदा सरकारका अन्य कुनै पार्टीले प्रतिगामी कदम चालेमा हामी सडकबाट प्रतिगमनको विरुद्धमा आन्दोलन गर्नेछौं । ‘सरकारमा जादैँमा हाम्रो आन्दोलन सकिएको छैन, हिजो पनि हामी जनताका लागि सडकमै थियौं र आजपनि त्यही छौँ’ ।
बुधवार जनता समाजवादी पार्टी, पथरी शनिश्चरे नगर कमिटीले आयोजना गरेको आउँदै गरेको चाडपर्वहरूको शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रममा बोल्दै जनता समाजवादी पार्टी प्रदेश १ का अध्यक्ष तथा केन्द्रिय सदस्य प्रविण चाम्लिङले सो कुरा बताएका हुन । उनले आफ्नो पार्टी सरकारमा हुँदा गरेका सबै निर्णयहरू ठिक हुन्छन भन्ने छैन, त्यसैले तल्लो स्तरबाट गलतलाई गलत भन्ने क्षमता राख्न सबै कार्यकर्तालाई अनुरोध गरे ।
उनले भने, ‘ धार्मिक, भौगोलिक, सांस्कृतीक, शैक्षिक, वर्गिय र लैगिक समानता भएमात्र समृद्ध समाजवादको सुरूवात हुन्छ । हो, हामी यस्तै समाजवादको पक्षमा रहेका छौँ । सबैले आ- आफ्नो दृष्टिकोणले धर्म, संस्कृती, परम्परा र रितिरिवातलाई मनाउन पाउनुपर्छ । राज्यले कुनै किसिमको अवरोध जनाउँनु हुँदैन। अनि मात्र समानताको विचार सृजित हुन्छ ।’
सो कार्यक्रममा बोल्दैँ प्रदेश १ जसपाका सचिव एवं केन्द्रिय सदस्य भरत दाहालले हाल बनेको गठबन्धनको सरकार देशलाई दुर्घटनाबाट बचाँउन निर्माण भएको बताए । उनले भने, ‘अघिल्लो केपि ओलि नेतृत्वको सरकारले गरेका विभिन्न असंवैधानिक कदमहरूले लामो समयको जनयुद्ध, जनजाती आन्दोलन, मधेसी विद्रोहबाट प्राप्त भएको उपलब्धिलाई भत्ताभुङ्ग पार्ने स्थिति बनाएको थियो सो लाई रोक्न गठबन्धनको सरकारले केही हदसम्म प्रयास गरेको छ र सफल पनि भएको छ’। अबको सरकारले तल्लो स्तरबाट जनजाति, दलित, पिछडिएका, उत्पीडित लगायतका वर्गलाई लक्षित गरि कार्यक्रम तथा नितिहरू लिइ अघि बढ्ने योजना बनाएको दाहालले बताए ।
जसपा पथरी शनिश्चरे नगर अध्यक्ष फिपराज बेगाको अध्यक्षता र जसपा प्रदेश १ का अध्यक्ष प्रवीण चाम्लिङको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा जसपा प्रदेश १ सचीव भरत दाहाल, जसपा क्षेत्रीय अध्यक्ष देउमान पंधाक, लिम्बूवान राष्ट्र समिति मुख्य केदार धिमाल, जसपा प्रदेश सदस्य तारा दवाडी, विशाल आङ्दाम्बे, शान्ता मोक्तान, नेपाली काङ्ग्रेस नगर प्रतिनिधिको रुपमा केवि गुरूङ, माओवादी केन्द्र नगर प्रतिनिधिको रुपमा गोविन्द कटुवाल लगायत पार्टी कार्याकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रम सिरिजंङ्गा धार्मिक वन, पथरी शनिश्चरे १ मा सम्पन्न भएको थियो ।