
क्रेजी संवाददाता
उर्लाबारी । मोरङको उर्लाबारी–४ मा एमाले सहित विभिन्न पार्टी परित्याग गरी १ सय ३८ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
बुधबार नेपाली कांग्रेस उर्लाबारी वडा नं. ४ को आयोजनामा पार्टी प्रवेश कार्यक्रमको आयोजना गरेको हो । एमालेका लक्ष्मी दाहाल सहित ७५ जना कांग्रेसमा प्रवेश गरेका छन् भने राप्रपाबाट २७ जना प्रवेश गरेका छन् । यस्तैगरी नेकपा माओवादी केन्द्रबाट ३६ जना पार्टी प्रवेश गरेका छन् । नव प्रवेशीहरुलाई नेपाली कांग्रेस मोरङ क्षेत्र नं १ का सभापति एवं उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग फागो, नगर सभापति सुरेन्द्र लिम्बुले अबिर र खदा लगाई प्रवेश गराएका थिए ।
पार्टी प्रवेश कार्यक्रमका प्रमुख अथिति क्षेत्र नम्वर १ का सभापति तथा उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले राजनीतिमा आउने युवा पिढीहरु पदको लागि नभएर विकास र परिवर्तनको लागि आउनुपर्ने बताए ।
उक्त कार्यक्रमको वार्ड नं ४ का सभापति प्रेमबहादुर याख्खाको सभापतित्वमा भएको थियो भने सञ्चालन वार्ड सचिव भिमप्रसाद घिमिरेले गरेका थिए ।

