उद्घाटन खेलमा टाइब्रेकर मार्फत् धरान भेट्रानस विजयी - Crazysaptahik.com

उद्घाटन खेलमा टाइब्रेकर मार्फत् धरान भेट्रानस विजयी

सन्तोष राई

मोरङ कानेपोखरी–५ जहदामा आज  भएको ‘जहदा भेट्रानस गोल्डकप–२०७८’को उद्घाटन खेलमा धरान भेट्रानस विजयी भएको छ ।

नव प्रगतिशील समाज सेवा क्लबको संरक्षण र जहदा भेट्रानसको आयोजनामा भएको यस भेट्रानस गोल्डकपमा एभरेष्ट भेट्रानस मोरङलाई टाइब्रकेरमा हराउँदै धरानले सेमिफाइनलको यात्रा तय गरेको हो ।

कानेपोखरी–५ जहदामा अवस्थित कानेपोखरी गाउँपालिकाको रंगशालामा भएको खेलमा हाफ टाइमसम्म दुवै टिमले बराबरी नतिजा निकालेको थियो । दोस्रो हाफको २ मिनेटमै धरानका देवराज सुनुवारले हानेको कर्नर किकलाई हेड मार्फत जनकराज सुनुवारले गोल गरेका थिए । त्यसपछि एभरेष्टका भुवनसिंह राईले १८ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । धरान र एभरेष्टको रोमाञ्चक खेलमा अलि बढी एभरेष्टका खेलाडीहरुले आफ्नो सुनौलो मौकाहरुलाई गुमाएका थिए ।

निर्धारित समयमा दुवैतर्फबाट १/१ गोल भएपछि खेल टाइब्रकेरतर्फ धकेलिएको थियो । खेल मैदानको उत्तरतर्फको पोष्टमा पेनाल्टी सुटआउट गराइएको थियो । सो क्रममा एभरेष्टका तर्फबाट भुवनसिंह राई र बद्री बिष्टको प्रहार गोल हुनबाट वन्चित भएको थियो भने प्रेम घिमिरे र डिल्लीराम श्रेष्ठको प्रहार मात्र गोलमा परिणत भएको थियो । यस्तै धरानका तर्फबाट खगेन्द्र लिम्बु, तिर्थ राना मगर, जनकराज सुनुवार र योगेन्द्र राईको प्रहार सिधैं गोलमा परिणत भएको थियो ।

प्रतियोगितामा खेलमा ८ भेट्रानस टिमको सहभागिता रहनेछ । जस अन्तर्गत भेट्रानस टिम, धरान, इटहरी, विराटनगर, दमक, एभरेष्ट मोरङ, जहदा भेट्रानस लगायत टिम रहेको आयोजकले बताएको छ । प्रतियोगिताको विजेता र उपविजेताले क्रमश १ लाख र ५१ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र हात पार्नेछ ।

हरेक खेलमा म्यान अफ द म्याच वापत पुरस्कार १ हजार र ट्रफी प्रदान गरिने भएको छ । वेष्ट गोलरक्षक, हाई स्कोरर, अनुशासित खेलाडी, म्यान अफ द टुनामेन्ट जस्ता विधा हात पार्ने खेलाडीलाई खेल समापनको दिन नगद २५ सय सहित आकर्षक ट्रफीले पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

खेलको म्यान अफ द म्याच विजयी टिमका जनकराज सुनुवार घोाषत भए । भोलि (सोमबार)को खेल जहदा भेट्रानस (आयोजक) र मर्निङ भेट्रानस विराटनगर बीच हुने खेल संयोजक डेनिम राईले जानकारी दिए ।

खेलको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि क्षेत्र नं. ३ क का प्रदेश सांसद सूर्यमाराज राईले गरेका थिए । कार्यक्रममा नेकपा एमाले कानेपोखरी गाउँकमिटि अध्यक्ष सुशिल बुढाथोकी, नेपाली कांग्रेसका गाउँ उपसभापती जवरबहादुर राई, नेकपा माओवादीका गाउँ संयोजक मनोज राजवंशी, मितेरी युवा क्लबका अध्यक्ष नविन लिम्बु, सिंहदेवी माविका प्रधानाध्यापक धर्मराज ढकाल, पर्लऐकेडेमी स्कुका संचालक मनु गुरुङ, भोजकुमार राई लगाएत अतिथि रहेका थिए । कार्यक्रमका संयोजक डेनिम राईको सभापतीत्वमा र चरण गुरुङको संचालन रहेको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.