क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले आज (सोमबार) आर्थिक वर्ष २०७७/७८ को वार्षिक समीक्षा गोष्ठी सम्पन्न गरेको छ ।
नगर प्रमुख दिलिपकुमार राई (किशोर)को अध्यक्षतामा भएको गोष्ठीमा नगर प्रमुख राईले वर्षभरिको कार्यप्रगति विवरण सञ्चारकर्मीहरु समेत सहभागी गराई समीक्षात्मक रुपमा सम्पन्न गर्दै अबका दिनमा अझ प्रभावकारी गतिविधि अघि बढाउँदै जाने बताउनुभयो ।
उहाँले कार्तिक मसान्तभित्र अघिल्लो आर्थिक बर्षको कार्यप्रगति विवरणको समीक्षात्मक कार्यक्रम सम्पन्न गर्नुपर्ने सरकारी प्रावधान अनुरुप कार्यपालिका सदस्य, शाखाहरुका प्रमुख, वडा सचिव सहित सहभागि भई आफूले गरेका कामको समीक्षा गरिएको जनाउनुभयो ।
कार्यक्रममा नगर उपप्रमुख यमुना विष्ट वास्तोला, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल र सामाजिक विकास समितिका संयोजक कपिलमणि ढकालले कार्यक्रमका बारेमा बोल्नुभयो । गोष्ठीमा, शिक्षा शाखा प्रमुख उपसचिव शालिग्राम काफ्ले, लेखा शाखा प्रमुख पिताम्बर वस्ती, योजना शाखा प्रमुख शिवकुमार राई, स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहाल, घर नक्सा शाखा प्रमुख कमलप्रसाद पौडेल, महिला तथा बालबालिका शाखा प्रमुख गीता कट्टेलले आआफ्नो शाखा मार्फत भएका गतिविधि प्रस्तुत गर्नुभयो ।
कोरोना भाइरसको संक्रमणले असर पु¥याएको गत आर्थिक वर्षमा जम्मा १ सय ९५ योजनामध्ये १ सय ६३ योजना सम्पन्न भई ८० दशमलव ५१ प्रतिशत उपलब्धि हाँसिल भएको र कार्यपालिकाले निर्णय गरी बाँकी रहेका ३३ योजना चालु आर्थिक वर्षमा सारिएको छ । त्यस्तैगरी ६६ दशमलव ३६ प्रतिशत पूँजीगत खर्च र ८३ दशमलव ३६ प्रतिशत चालु खर्च अन्तर्गतको बजेट खर्च हुन पुगेको गोष्ठीमा जानकारी गराइएको थियो ।