प्रदेश नं. १ का मुख्यमन्त्री राईले पाए विश्वासको मत - Crazysaptahik.com

प्रदेश नं. १ का मुख्यमन्त्री राईले पाए विश्वासको मत

विराटनगर । प्रदेशसभाको बुधबार बसेको बैठकमा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।

मुख्यमन्त्री राईले मागेको विश्वासको मतको पक्षमा बहुमत पुगेको उल्लेख गर्दै प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले उनले विश्वासको मत प्राप्त गरेको घोषणा गरेका हुन् । बैठकमा मुख्यमन्त्री राईले राखेको विश्वासको मतको पक्षमा ५० मत परेको थियो भने विपक्षमा २९ मत प्राप्त भएको थियो। प्रदेशसभाको बैठकमा ७९ जना सदस्य उपथित थिए । मत दिन्नँ भन्ने पक्षमा भने कुनै पनि मत परेको थिएन ।

‘प्रदेश सभामा तत्काल कायम रहनुभएका जम्मा ९२ जना प्रदेशसभाका सदस्यमध्ये आजको मतदानमा उपस्थित माननीय सदस्यको संख्या सभामुखबाहेक ७९ रहेको छ। माननीय सदस्यहरु, उल्लेखित माननीय सदस्यहरुबाट माननीय श्री राजेन्द्रकुमार राईले नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम आफूमाथि प्रदेशसभाको विश्वास छ भनि प्रदेशसभाका विश्वासको मत प्राप्त गर्न राख्नु भएको प्रस्तावको पक्षमा अर्थात् हुन्छ भन्ने पक्षमा जम्मा ५० मत प्राप्त भएको छ ।

यसैगरी प्रस्तावको विपक्षमा अर्थात् हुन्न भन्ने पक्षमा जम्मा २९ मत प्राप्त भएको छ । र मत दिन्न भन्ने पक्षमा शुन्य मत प्राप्त भएको छ’, सभामुख भण्डारीले भने । ‘माननीय मुख्यमन्त्री श्री राजेन्द्रकुमार राईले नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम आफूमाथि प्रदेशसभाको विश्वास छ भनि प्रदेशसभाका विश्वासको मत प्राप्त गर्न राख्नु भएको प्रस्तावको पक्षमा जम्मा ५० मत परेकाले उक्त मत प्रदेश नम्बर १ प्रदेशसभामा तत्काल कायम रहेको ९२ जना सदस्य संख्याको बहुमत भएको हुँदा माननीय मुख्यमन्त्री श्री राजेन्द्रकुमार राईले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न राख्नु भएको प्रस्ताव बहुमतले पारित भएको घोषणा गर्दछु,’ सभामुख भण्डारीले अगाडि भने ।

नेकपा एकीकृत समाजवादी प्रदेशसभा संसदीय दलका नेता राई गत कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । यसअघि उनले प्रदेशसभामा विश्वासको मत माग्दै प्रतिपक्ष दलहरुसँग पनि मिलेर काम गर्ने प्रतिवद्धता जनाए ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेका ३९ मध्ये १० जना सांसद अनुपस्थित भएका छन् । ४१ जना सांसद रहेको नेकपा एकालेका एक जना सभामुख र एक जना फरार सांसद घटाउँदा उसको मत संख्या ३९ मात्रै हुन्छ ।
– हाम्रोमत

सम्बन्धित खवर