नेकपा एमाले प्रदेश कमिटी बैठक सम्पन्न - Crazysaptahik.com

नेकपा एमाले प्रदेश कमिटी बैठक सम्पन्न

भूमिप्रसाद पाठक

महाधिवेशन आरम्भ हुनु एक हप्ता अघि नेकपा (एमाले) १ नं. प्रदेश कमिटीको पूर्ण बैठक विराटनगरस्थित पार्टी कार्यालय पाञ्चालीमा सम्पन्न भएको छ ।

नेकपा विघठनपछि एमाले हुनुभएका प्रदेश कमिटी सदस्यहरुलाई पार्टीको आन्तरिक वैधानिक व्यवस्थाअनुसार पद तथा जिम्मेवारीको शपथ गराएसँगै पार्टीको प्रदेश कमिटी अध्यक्ष देवराज घिमिरेको अध्यक्षतामा सम्पन्न बैठकलाई संविधानसभा अध्यक्ष एवं पार्टी स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ, १ नं. प्रदेश इञ्चार्ज भीम आचार्य र केन्द्रीय नेता भानुभक्त ढकालले सम्बोधन गर्नुभएको थियो ।

पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन २०७८ मंसीर १०–१२, चितवनको विषयगत व्यवस्थापनको आन्तरिक तयारीसम्बन्धी उल्लेख्य निर्णय लिएको यो बैठकले प्रदेश कमिटीको तर्फबाट भूगोल, मजदूर, महिला, दलित आदि समुदायको निश्चित संख्यामा प्रतिनिधि छनौट गरेको छ । एमालेको महाधिवेशन व्यवस्थापनसम्बन्धी पार्टीको प्रदेश कमिटी एउटा निर्वाचन क्षेत्र रहने व्यवस्था रहेको छ ।

बैठकले दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गर्दै जनताको बहुदलीय जनवादको प्रकाशमा नेपाल समाजमा यसको मौलिक प्रकृतिको समाजवादको आधारशीला निर्माण गर्ने दृढ संकल्प अघि सारेको नेता राजेन्द्र गौतमले जारी गर्नुभएको प्रेस नोटमा भनिएको छ । यसको आधारभूमि निर्माणका लागि आसन्न महाविधेशन आफैमा एउटा आरम्भ बिन्दु भएको निष्कर्ष सहित महाधिवेशनको भव्य सम्पन्नताका लागि पार्टीको सिंगो शक्ति लाग्ने प्रतिबद्धता जनाएको प्रदेश सचिव विनोद ढकालले जनाउनुभएको छ ।

अध्यादेशबाट आएको सरकारले जनताको ढाड सेक्ने काम गरेकोप्रति आक्रोश व्यक्त गर्दै मूल्य वृद्धि अविलम्ब फिर्ता लिन माग गरेको प्रेस नोटमा उल्लेख छ । व्यक्तिको आम्दानीको स्रोत देखाउनु नपर्ने, उद्योग सञ्चालनलगायतका क्षेत्रमा लगानी देखाउनु नपर्नेजस्ता आर्थिक अपचलनका कामहरुलाई समेत अविलम्ब फिर्ता लिन माग गरेको उक्त नोटमा उल्लेख छ ।

यसबीचमा एमालेको नेतृत्वले गर्न सकेका राम्रा कामहरुको फेहरिस्त लिएर जनतामा जाने निर्णय गर्नुका साथै यसैको जगमा आउँदा दिनहरुमा स्थानीय, प्रदेश र संघीय चुनावहरु सजिलैसँग जित्न सकिने विश्वास संगठित गरेको बैठकमा सहभागी एकजना प्रदेश कमिटी सदस्यले बताउनुभएको छ ।

प्रदेशमा आधारित केन्द्रीय सदस्यहरु गुरु बराल, शेरधन राईं, हिकमत कार्की, देवेन्द्र दाहाल, विशाल भट्टराईं, भगवती चौधरीलगायत दर्जनौं नेतृत्वको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.