आर्थिक विपन्नहरुका लागि वडामा कार्यक्रम सञ्चालन हुने - Crazysaptahik.com

आर्थिक विपन्नहरुका लागि वडामा कार्यक्रम सञ्चालन हुने

क्रेजी संवाददाता
पथरी । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत मोरङको पथरी शनिश्चरे नगरपालिकाका लघु उद्यमी वन्न चाहने आर्थिक विपन्नहरुका लागि थप ३ वटा वडामा कार्यक्रम सञ्चालन हुनेभएको छ ।

लघु उद्यम विकास कार्यक्रम सञ्चालन स्वीकृत निर्देशिका २०७७ को दफा २१ को उपदफा ३ बमोजिम लघु उद्यमी सृजनाका लागि यो वर्ष वडा नम्बर ४, ८ र ९ मा कार्यक्रम सञ्चालन हुने भएको हो । जस अन्तर्गत सोमबार वडा नम्बर ४ मा प्रारम्भिक छलफल भएको छ ।

सो कार्यक्रममा नगर उपप्रमुख यमुना विष्ट वास्तोला, ४ नम्बर वडाध्यक्ष गोविन्दबहादुर भण्डारी, नगरको घरेलु तथा साना उद्योग विकास शाखा प्रमुख हेमचन्द्र दहालले कार्यक्रमका बारेमा बोल्दै आर्थिक विपन्न समुदाय स्वनिर्भर वन्ने कार्यक्रममा सक्रिय सहभागि हुन आग्रह गर्नुभयो । मंसिर १२ गते सहभागितामुलक ग्रामीण लेखाजोखा कार्यक्रममार्फत उद्यमी वन्न चाहनेहरुको छनौट गरिने छ ।

नगरले नियुक्त गरेका उद्यम विकास सहजकर्तामार्फत वडाका वस्तीमा गई सहभागितामुलक ग्रामिण लेखाजोखा विधिबाट आर्थिक विपन्न वर्गको पहिचान गरी ७० प्रतिशत महिला समेत रहने गरी ४९ वर्ष उमेरसम्मका प्रत्येक वडामा ३० जनाका दरले उद्यमी वन्न चाहनेहरुको छनौट गरिने छ । वरिष्ठ उद्यम विकास सहजकर्ता सपना कार्की र उद्यम विकास सहजकर्ता भगवती कटुवालले कार्यक्रमको सहजिकरण गर्नुहुनेछ ।

परिवारका सदस्यको वार्षिक आम्दामी ३९ हजार ७ सय २६ सम्म हुनेलाई हैसियत स्तरीकरण विधिबाट छनौट गरिएको छ । जसमा सहभागिले सामाजिक नक्सा र स्रोत नक्सा तयार गर्दै कार्यक्रमको प्रभावकारिताको पक्षमा आफ्ना योजना बनाउनु पर्दछ ।

अघिल्लो वर्ष वडा नम्बर १, २ र ३ मा कार्यक्रम सञ्चालन भएका समूहका लागि यो वर्ष प्रविधि हस्तान्तरण गरिने छ । जसमा, नगरलाई प्लाष्टिकमुक्त बनाउने काममा सहयोग पुुर्याउन १ नम्बरमा ९ जनालाई कपडा तथा कागजको झोला बुन्नका लागि प्रविधि हस्तान्तरण गरिने छ । २ मा सिलाई बुनाई र ३ मा मुढा बुन्नका लागि प्रविधि हस्तान्तरण गरिने छ । यसअघिको स्तरोन्नतीको योजना अन्तर्गत ७ नम्बर वडामा ढाका बुनाइका लागि तान समेत उपलब्ध गराइने छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.