
क्रेजी समाचारदाता
पथरी । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत मोरङको पथरी शनिश्चरे नगरपालिकाका लघु उद्यमी वन्न चाहने आर्थिक विपन्नहरुका लागि मंगलबार वडा नम्बर ९ मा सहभागितामुलक ग्रामीण लेखाजोखा कार्यक्रम सञ्चालन भएको छ ।
कार्यक्रममा बोल्दै नगर प्रमुख दिलिपकुमार राई (किशोर)ले आफ्नो भित्रको इच्छाशक्ति जगाएर उद्यमी वन्न अघि सर्नका लागि उत्प्रेरणामुलक मन्तव्य व्यक्त गर्नुभयो । कार्यवाहक वडाध्यक्ष इन्द्रावती गुरुङको अध्यक्षताको कार्यक्रममा कार्यपालिका सदस्य निर्मला गदालले पनि मन्तव्य व्यक्त गर्नुभयो ।
नगरको घरेलु तथा साना उद्योग विकास शाखा प्रमुख हेमचन्द्र दहालले कार्यक्रमका बारेमा बोल्दै आर्थिक विपन्न समुदाय स्वनिर्भर वन्ने कार्यक्रममा सक्रिय सहभागि हुन आग्रह गर्नुभयो । सो वडाका लागि मंसिर १२ गते १ बजे र ४ का लागि ११ बजे उद्यमी वन्न चाहनेहरुको छनौट गरिने छ । वडा नम्बर ८ को प्रारम्भिक छलफल मंसिर ८ गते १२ बजे सञ्चालन हुनेछ ।
नगरले नियुक्त गरेका उद्यम विकास सहजकर्तामार्फत सहभागितामुलक ग्रामिण लेखाजोखा विधिबाट आर्थिक विपन्न वर्गको पहिचान गरी ७० प्रतिशत महिला समेत रहने गरी ४९ वर्ष उमेरसम्मका प्रत्येक वडामा ३० जनाका दरले उद्यमी वन्न चाहनेहरुको छनौट गरिने छ । वरिष्ठ उद्यम विकास सहजकर्ता सपना कार्की र उद्यम विकास सहजकर्ता भगवती कटुवालले कार्यक्रमको सहजिकरण गर्नुहुनेछ ।
परिवारका सदस्यको वार्षिक आम्दामी ३९ हजार ७ सय २६ सम्म हुनेलाई हैसियत स्तरीकरण विधिबाट छनौट गरिन्छ । जसमा सहभागिले सामाजिक नक्सा र स्रोत नक्सा तयार गर्दै कार्यक्रमको प्रभावकारिताको पक्षमा आफ्ना योजना बनाउनु पर्दछ ।
लघु उद्यम विकास कार्यक्रम सञ्चालन स्वीकृत निर्देशिका २०७७ को दफा २१ को उपदफा ३ बमोजिम लघु उद्यमी सृजनाका लागि यो वर्ष वडा नम्बर ४, ८ र ९ मा कार्यक्रम सञ्चालन हुने भएको हो ।

