
क्रेजी संवाददाता
शिवसताक्षी । टाइब्रकेरमा दुधौली स्पोर्टिङ क्लब सिन्धुलीलाई हराउँदै मोरङको पथरी फुटबल क्लबले विजयी यात्रा सुरुवात गरेको छ ।
झापाको शिवसताक्षी ७ मा अवस्थित बाल सेवा स्कुलको खेल मैदानमा आजदेखि भएको प्रथम एनी फाक्तेप गोल्ड कप २०७८ मा पथरी विजयी भएको हो । उद्घाटन खेलमा दुधौली स्पोर्टिङ फुटवल क्लव सिन्धुलीलाई ३ गोलको विरुद्ध ५ गोल गर्दै टाइब्रेकरमा पथरी विजय भएको हो ।

खेलको पहिलो हाफमा पथरीका तर्फबाट निरज परियारले १४ औं मिनेटमा गोलको खाता खोलेका थिए । त्यसपछि दोस्रो हाफको ७४ औं मिनेटमा सिन्धुलीका कमल गुरुङलाई विपक्षीका डिफेन्डर धिरेन बिष्टले फल गरेपछि सिन्धुलीले फ्रिकिक पाएको थियो । सोही फ्रिकिकलाई सही सदुपयोग गर्दै सिन्धुलीका कमल गुरुङले गोल गरेका थिए ।
निर्धारित ९० मिनेटको खेलमा दुवै टिमबाट एक एक गोल भएपछि खेल टाइब्रेकरमा प्रवेश गरेको थियो । टाइब्रेकरमा पथरीका तर्फबाट क्याप्टेन साइमन लिम्बु, युकेश तामाङ, धिरेन बिष्ट, मन्जिल खड्का र गोलकिपर अर्जुन बस्नेतले गोल गरेका थिए । यस्तै विपक्षी टिम सिन्धुलीका तर्फबाट बिजय कार्की, कमल गुरुङ, विष्णु कुमारले गोल गरेका थिए भने सुवास कुमारको पेनाल्टी प्रहार पथरीका गोलकिपर अर्जुन बस्नेतले सेभ गरेका थिए । अन्ततः पथरीको अगाडि दुधौली स्तब्ध हुन बाध्य भयो ।
आजको उद्घाटन खेलको १२ औं मिनेटमा पथरीका सुवास तामाङले राम्रो अवसर प्राप्त गरी प्रहार गरेको बल गोलपोष्ट भन्दा थोरै माथिबाट बाहिरिएको थियो । यस्तै पथरीका क्याप्टेन साइमन लिम्बुले १४ औं मिनेटमा निक्कै तोडका साथ गरेको प्रहार दुधौलीका गोल किपर सुरेश सदाले पन्च गरी आउट गरेका थिए ।

पहिलो हाफमा निक्कै दबाब खेपेको सिन्धुलीले दोस्रो हाफमा खेलको लय समातेको थियो । सिन्धुलीले दोस्रो हाफमा एक गोल गर्नुका साथै ३ वटा सुन्दर अवसरहरु खेर फालेको थियो । आजको खेलको म्यान अफ द म्याच फ्रि किक मार्फत् गोलकर्ता सिन्धुलीका कमल गुरुङ घोषित भए ।
भोलि (आइतबार)को खेल जलथल फुटबल क्लब झापा भर्सेस रोयल स्पोर्टिङ क्लब दमक बीच हुने आयोजकका आर्थिक संयोजक खेमकुमार सम्वाहाम्फे (अनिल)ले जानकारी दिए ।

औपचारिक कार्यक्रम :
आजदेखि सुरु भएको फुटबल प्रतियोगिताको प्रमुख अतिथि एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङ रहनुभएको भएको थियो ।
प्रमुख अतिथि नेम्बाङले यस शिवसताक्षीबाट राम्रा खेलाडीहरु उत्पादन भएकोमा खुशी व्यक्त गरेका थिए । यस्तैगरी प्रेम सेर्माले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा फुटबल संघ झापाका अध्यक्ष भगिरथ आले मगर, एनी ब्रान्डका प्रमुख सन्तोष थोप्रा, कमल सापकोटा, शिवताक्षी नगरपालिकाका प्रवक्ता एवं वडा नं. ७ का वडाध्यक्ष नविन इजम लगायतको उपस्थिति रहेको थियो ।

