नेपाली राष्ट्रिय फुटबल टोली अहिले मुख्य प्रशिक्षकबिहिन छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजीनामा दिएको दुई महिना बित्दा पनि अखिल नेपाल फुटबल संघ (एन्फा)ले हालसम्म मुख्य प्रशिक्षक नियुक्त गर्न सकेको छैन ।
अल्मुताइरीले भदौ २६ गते राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकबाट राजीनामा दिएका थिए । त्यसपछि एन्फाले दुई कार्यवाहक प्रशिक्षक नियुक्त गरिसकेको छ । बंगलादेशविरुद्धको खेलका लागि प्रदीप हुमागाईंलाई नियुक्त गरेको एन्फाले पाकिस्तानविरुद्धको खेलका लागि कुमार कटुवाललाई नियुक्त गरेको छ ।
यसरी दुईपटक कार्यवाहक प्रशिक्षक नियुक्त गरिसक्दा मुख्य प्रशिक्षक नियुक्तिको प्रक्रिया अब थाल्न लागेको एन्फाको महासचिव किरण राईले रातोपाटीलाई जानकारी दिए । मुख्य प्रशिक्षक नियुक्तिका लागि आफूहरू काम अगाडि बडाइ रहेको राईले बताए ।
आवेदन निकालेर नै मुख्य प्रशिक्षक नियुक्त गर्ने प्रक्रिया भएकाले केही समय लाग्ने भएको उनले बताए । ‘हामी मुख्य प्रशिक्षक नियुक्तिका लागि प्रकृया थालि रहेका छौँ । यसै साता भित्र आवेदन निकाल्ने छौँ ।
त्यसपछि मुख्य प्रशिक्षक नियुक्तिको प्रकृया थाल्नेछौँ,’ राईले भने । एन्फाले अहिले मुख्य प्रशिक्षकमा युरोपेली प्रशिक्षक ल्याउने तयारी गरेको छ ।
त्यसको लागि एन्फाले एक चरणमा कुरा पनि थालेको थियो । अब आउने आवेदनमा युरोपेली प्रशिक्षक परेमा एन्फाले प्राथमिकतामा राख्ने योजना बनाएको छ ।