केशव निरौला
पथरी/ मोरङमो कानेपोखरी ४ निवासी बौद्धिक व्यक्तित्वको रूपमा परिचित जयराज संयोक लिम्बूले आसन्न सङ्घीय व्यवस्थापिकाअन्तर्गत प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
राजनीति शास्त्रमा स्नातकोत्तर र कानुनमा समेत स्नातक गरेका स्पष्ट वक्ता मानिने जयराजले शनिबार पथरीमा पत्रकार सम्मेलनको आयोजना गरी ‘माछो’ चुनाब चिह्नबाट उम्मेदवार बनेको घोषणा गरे । लिम्बूले मोरङ क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएको आधिकारिक जानकारी दिँदै भने– ‘आज पार्टीका नेताहरूको व्यक्तिगत स्वार्थले दलको नीति, सिद्धान्त, आदर्श र पद्धतिलाई ध्वस्त गरेको अवस्थामा जनतालाई सर्वोपरि ठानेर मैले निष्ठाका साथ उम्मेदवारी दिएको छु ।’ नेपाली कांँग्रेसको राजनीतिक पृष्ठभूमि भएका जयराजले उक्त पार्टीको कार्यप्रणालीप्रति असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
उनले पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्ति वाचन गर्दै भने–‘मोरङ क्षेत्र नं. ३ को काँग्रेसले आफ्नै अग्रजको अपमान गर्दछ, त्याग र बलिदानलाई मूर्ख ठान्छ, अनवरत क्रियाशीलतालाई बेबकुफी ठान्छ, सादगी र सहनशीलतालाई कमजोरी ठान्छ । गरिबीको उपहास गर्दै गुलामीको स्रोत ठान्छ, आत्मस्वाभिमानलाई तुच्छ मूल्यमा तौलिन्छ र निष्ठालाई खरिद गर्ने कुचेष्टा गर्दछ ।
त्यसैले यस्तो भद्रगोल अवस्थाबाट प्राण पाउन मेरो स्वतन्त्र उम्मेदवारी हो ।’ यस क्षेत्रका बासिन्दाको सामाजिक, आर्थिकलगायत सर्वाङ्गीण विकासलाई लक्षित गरी ३६ बुँदे घोषणापत्र सार्वजनिक गरेका लिम्बूले आफ्नो जितबाट प्रतिनिधि सभाका अन्य सदस्यलाई पनि सुतेको अवस्थामा रहे तिनलाई ब्युँझाउने गरी उदाहरणीय कार्य गर्ने उद्घोष गरे ।
विजयी भएपश्चात् नै उनले कृषकका लागि मलखादको व्यवस्थापन, मिनी हाइड्रोपावरको प्रवर्धन, यातायातका साधनमा लाग्ने अत्यधिक करको कटौती र स्थानीय मदिराको ब्रान्डिङ गर्नेजस्ता कार्यलाई प्राथमिकता दिएर अघि बढ्ने बताए । जयराजले दीर्घकालीन योजनामार्फत यस क्षेत्रमै एयरपोर्ट स्थापना र सगरमाथा फेदीसम्म पर्यटकीय स्टेसनसहितको केबुलकार सञ्चालन गर्न सम्भव रहेको आधारसहित आफनो दाबी प्रस्तुत गरे ।